पहिलो चरणमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्। खोप लगाउने पहिलो चरणको अभियान शनिबारबाट सकिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ।
जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ।
सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो। कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो। पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ।
नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले कुनै अवाञ्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए।
भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ।
Shares

प्रतिक्रिया