समाज


जसले चरिकोटमा घिसारिएको ‘चरी’को उद्धार गरिन्

जसले चरिकोटमा घिसारिएको ‘चरी’को उद्धार गरिन्

यज्ञराज जोशी
माघ २६, २०७७ सोमबार ११:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसको विरोध सुरु भयो। दोलखाको चरिकोटमा केही युवाहरुले एउटा कुकुरको घाँटीमा प्रधानमन्त्रीको तस्बिर टाँसेर अमर्यादित प्रदर्शन गरेका थिए।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा ती युवाले कुकुरको घाँटीमा डोरी बाँधेर घिसारिरहेका थिए। कुकुर उम्किन बल गरिरहेको थियो, मान्छेहरु उसलाई लछारिरहेका थिए। भिडियो सार्वजनिक भएपछि त्यसको चर्को विरोध भयो।

No description available.

निर्दोष जनावरमाथि मान्छेहरुले गरेको अत्याचारको दृश्यले एनिमल नेपालकी अध्यक्ष प्रमादा शाहको मन कुँडिएको थियो। उनले तुरुन्तै सामाजिक सञ्जालमार्फत त्यसको विरोध गरिन् र कुकुरको उद्धार गर्न लागिपरिन्।

सुरुमा उनले प्रदर्शनकारीसँग सम्पर्क गरिन्। उनीहरुलाई सम्झाइबुझाइ गरिन् र आफ्नो कार्यालयबाट दुईजना पठाएर कुकुर काठमाडौँ झिकाइन्।

आइतबार दिउँसो झम्सिखेलस्थित एनिमल नेपालको कार्यालय पुग्दा त्यही ‘चरी’ सोफामा आराम गर्दै थियो।

animal_nepal_1.jpg

‘भिडियोमा लछारपछार गरेको, झुन्डाएको, घिसारेको करुणिक दृश्य देखेपछि त्यो कुकुर ल्याउनुपर्छ भन्ने मलाई लाग्यो,’ शाहले चरीलाई सुम्सुमाउँदै भनिन्, ‘उक्त घटनाले उसलाई विक्षिप्त थियो। मैले घाँटीमा कलर ल्याउन खोजिदिँदा एकदमै आत्तियो। अहिले हामीसँग भएको एक महिना भयो। अहिले रिल्याक्स्ड छ।’

शाहका अनुसार चरीमा भोटे कुकुरको गुण भएकाले एकदमै ज्ञानी छ। दिनभर सुत्छ। राति सक्रिय हुन्छ। साथीहरु पनि बनाएको छ। कालो कुकुरसँग घुलमिल हुन्छ।

शाह पशु कल्याणका क्षेत्रमा लागेका डेढ दशक बढी भयो। यो अवधिमा उनलाई सबैभन्दा बढी पोल्ने घटनामध्ये यो एउटा हो।

‘एउटा जिम्मेवार ठाउँमा बसेका युवाहरुले जनावरमाथि त्यस्तो हिंसा गरेको देखेर साह्रै दुःख लागेको थियो,’ शाहले थपिन्, ‘पछि उहाँहरुलाई सम्झाइबुझाइ गरेपछि माफी माग्नुभयो। आइन्दा त्यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता जनाउनुभएको छ।’

animal_nepal_2.jpg

चेत नआएसम्म रोकिन्न
काठमाडौंमा जन्मेहुर्केकी शाहलाई सानैदेखि जनावरप्रति प्रेम थियो। स्कुल जाँदा बाटोमा कसैले कुकुलाई कुटेको देख्दा उनी झगडा गर्न गइहाल्थिन्।

सन् २००८ देखि उनले पशुकल्याणका लागि एनिमल नेपालको स्थापना गरेकी हुन्। सुरुमा चोभारमा जनावरको उपचार केन्द्र खोलेर बाटोमा भेटिएका बिरामी, चोटपटक लागेका कुकुर, इँट्टाभट्टामा काम गर्ने घोडा, गधा र खच्चरको उपचार त्यहाँ गरिन्थ्यो। बिस्तारै बन्ध्याकरण तथा मोबाइल रेस्पोन्स सेवा समेत सुरुवात भयो।

उनका अनुसार एनिमल नेपालले १० हजार जनावरको बन्ध्याकरण, ७ हजारको उपचार तथा इँट्टाभट्टामा चोटपटक लागेका १२ सय बढी घोडा, गधाको उपचार गरिसकेको छ। काठमाडौंसँगै नेपालगञ्ज, धादिङ, गोरखा, कैलाली, बारा र चितवनमा पनि एनिमल नेपालले काम गर्दै आएको छ।

मानिसमा भित्रै मनदेखि मानवता, दया र करुणा नआएसम्म जनावरमाथिको हिंसा नरोकिने शाह बताउँछिन्।

‘मानवता भन्ने हृदयबाट निस्कने चिज हो। हामीले यत्रो पब्लिसिटी गरेका छौं। मिडिया, सामाजिक सञ्जालमा नियमित भनिरहेका छौं,’ उनले भनिन्, ‘जनावरमाथि दया, माया, करुणा देखाउने कुरा भित्री मनबाट आउनुपर्छ। त्यो हामी सबै भित्र छ। तर दबाएर राखेका छौं। त्यो उजागर गर्नुपर्‍यो। मानवता देखायो भने केटामान्छे ‘माचो’ हुँदैन भन्ने एटिच्युड हो कि?’

एनिमल नेपालले नै गरेको एक अध्ययन अनुसार ९० प्रतिशत मान्छेले आफ्नो कुकुरलाई कि थुनेर कि बाँधेर पाल्छन। शाहका अनुसार यो पशुकल्याणको विरुद्ध हो। घरभित्रै पालेको जनावरलाई माया गर्नुपर्ने उनीहरुलाई बाँधेर वा थुनेर दुःख नदिने जिम्मेवार मालिक बन्नुपर्ने शाहको भनाइ छ।

animal_nepal_5.jpg

पशु कल्याण ऐन नभएका कारणले पनि पशुमाथि हुने अत्याचार, हिंसाका घटना नरोकिएको शाह बताउँछिन्। आफूहरुले पटक पटक ऐनका विषयमा आवाज उठाउँदै आएको उनको भनाइ छ।

‘पशुकल्याण ऐन चाहिन्छ भनेको हामीले १० वर्ष भयो। ऐनमा जनावरमाथि अत्याचार, हिंसा गर्नेलाई सजाय, क्षतिपूर्ति, उपचार लगायत विस्तृतमा विषयवस्तु समेटिन्छ,’ शाहले भनिन्, ‘सरकारी तवरबाट कानुन नहुँदा पशुकल्याणको क्षेत्रमा काम गर्न गाह्रो भइरहेको छ। हामीले पटकपटक भन्दा समेत सरकारको प्राथमिकतामा ऐन पर्न सकेको छैन।’

शाहले पशुप्रति गरिने व्यवहारमा विगतभन्दा केही परिवर्तन भएको महसुस गरेकी छिन्। सुरुमा यस क्षेत्रमा लाग्दा उनलाई नै केही काम नपाएर कुकुर र बिरालोको काम गर्दै हिँड् भनेर मानिसहरु हाँस्थे। अहिले पशु अधिकार, कल्याणको कुरा मूलधारमा आएको उनको अनुभव छ।

‘पहिले बाटोमा कुकुर देखेपछि लात हान्ने प्रवृत्ति थियो। अहिले कुकुरहरुप्रति मायादया देखाउन, उनीहरुलाई ख्वाउने संस्कार बढेको छ। मेरो जीवनको मुख्य मिसन नै कुनैपनि जनावरलाई दुःख नहोस्, जनावरमाथि कुटपिट, हिंसा नहोस् भन्ने हो। यस्तो घटनाहरु नदोरिएको दिन आयो भने सुखसाथ मर्थेँ जस्तो लाग्छ,’ शाहले टुंग्याइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .