समाज


कीर्तिमानी आरोहीहरुलाई पोखरामा अभिनन्दन, नगर परिक्रमा गराइयो

कीर्तिमानी आरोहीहरुलाई पोखरामा अभिनन्दन, नगर परिक्रमा गराइयो

वाशुदेव मिश्र
माघ २६, २०७७ सोमबार १४:२३,

पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीलाई सोमबार पोखरामा सम्मान गरिएको छ।

पोखरा पर्यटन परिषद्ले म्याग्दीका निर्मल पुर्जासहित मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पासहित अर्को आरोहण दलमा रहेका मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पालाई सम्मान गरेको हो।

म्याग्दीका निर्मल पुर्जाले विश्वका सबैभन्दा अग्ला १४ हिमाल चढेर किर्तिमानी कायम गरेका छन्। आरोहणमा नयाँ कीर्तिमान पनि राखेका छन्। ८ हजार ६११ मिटर अग्लो केटुमा हालसम्म हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन।

आरोहीहरुलाई सम्मान गर्नुअघि बाजागाजासहित पोखराको परिक्रममा पनि गराइएको थियो। विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराउँदा आरोहीहरुलाई नागरिकहरुले भव्य स्वागत गरेका थिए।

निर्मल पुर्जाको टोलीले केटु हिमालको शीरमा पुग्नुअघि नेपालको राष्ट्रियगीत घन्काएको थियो। निर्मलले आफ्नै देशमा भएका हिमालमा अर्कैले विभिन्न रेकर्ड बनाएको सम्झँदै विश्वमाझ नेपालीलाई चिनाउन हिउँदमा केटु आरोहण गरेको बताए।

उनले व्यक्तिगत खर्चमा देशको नाम राख्ने अभियानमा लागेको बताउँदै भने, ‘हामी घरमा हिरो थियौं, तर विदेशमा थिएनौं। विदेशीले चढेको भए १४ वटै रेकर्ड विदेशीको नाममा रहन्थ्यो, अनि हामीले गर्व गर्ने ठाउँ हुने थिएन। त्यही रेकर्ड कायम गर्न चाहेका थियौँ।’

उनले माइनस ६५ डिग्रीको चिसोमा कष्ट सहेरै देशको नाम राख्न सकेकोमा खुसी व्यक्त गरे। विश्वभरका पर्वतारोहीले के–टु हिमाललाई किलर हिमालको रुपमा चिन्छन्। यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान समेत गुमाइसकेका छन्। निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व किर्तिमान बनाएर अन्तर्राष्ट्रिय स्तरमै ठूलो चर्चा कमाएका थिए।

k2-aarohi-pokhara.jpg

गत वर्षको वैशाख १० गते आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले म्याग्दीमै रहेको सातौं अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीसमेत हुन्। उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए।
विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए।

पूर्जाले यसअगाडी आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ। त्यस्तै, अरू पाकिस्तान र चीनमा छन्।

माघ ३ गते निर्मल पुर्जाको टिमले केटुको सफल आरोहण गरेर इतिहास रचेका थिए।

यता, परिषदले सोमबार मुस्ताङको धम्पुस पिक (थापा पिक) को सफल आरोहण गर्ने टासी पासाङ गुरुङ, मन गुरुङ, सनकुमार जुग्जाली, दिपेसबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्ललाई पनि सम्मानित गरिएको छ। उनीहरुले माघ ३ गते नै ६ हजार १२ मिटर अग्लो थापा पिकको आरोहण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .