नेपालमा कार्यरत सबै चिकित्सकहरुको परामर्श शुल्क बृद्धि भएको छ।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबारबाट चिकित्सकको परामर्श शुल्क वृद्धि भएको जनाएको हो।
अफिनले एक विज्ञप्ति जारी गर्दै आजैदेखि लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको जनाएको छ।
चिकित्सकको योग्यता र अनुभवका आधारमा शुल्क निर्धारण गरिएको अफिनले जनाएको छ। पाँच वर्षसम्म अनुभव भएकोलाई ३७० रुपैयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको परामर्श शुल्क ४५० रुपैयाँ तोकिएको छ। त्यसैगरी १० वर्षसम्म अनुभव भएका चिकित्सकको परामर्श शुल्क ८२५ रुपैयाँ पुर्याइएको छ।
स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो।
सो प्रतिबद्धता कार्यान्वयन नभएपछि फागुन ४ गते बसेको अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ।
२०७१ भदौ ११ गते २/२ वर्षमा वर्षमा परामर्श शुल्क पुनरवलोकन हुने निर्णय गरेको भए पनि अहिलेसम्म शुल्क पुनरवलोकन नभएको अफिनले जनाएको छ।

प्रतिक्रिया