समाज


टुँडिखेलमा आमनेसामने हुँदैछन् सेना र नागरिक

टुँडिखेलमा आमनेसामने हुँदैछन् सेना र नागरिक

यज्ञराज जोशी
फागुन ६, २०७७ बिहिबार १४:२०,

अहिले नेपाली सेनाले काँडेतारले घेरेको टुँडिखेलको उत्तरी क्षेत्रमा कुनैबेला खरीको बोट थियो। त्यसैको छहारीमा चन्द्र शमशेरले दासमोचनको घोषणा गरेका थिए। त्यहीँ जुद्ध शमशेरले भूकम्पपीडितलाई राहत दिने बताएका थिए।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहदेखि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले समेत त्यही खरीको बोटबाट सम्बोधन गरेका थिए।

राजा महेन्द्रको पालामा त्यो रुख काटियो। अहिले त्यो पुरै क्षेत्र सेनाको अतिक्रमणमा परेको छ। काँडेतारले बारेर सेनाले त्यहाँ आम नागरिकलाई प्रवेश निषेध गरेको छ।

प्रतिगमनविरुद्ध काठमाडौंमा जारी बृृहत नागरिक आन्दोलनले शुक्रबार सैनिक कब्जामा रहेको टुँडिखेलको सोही क्षेत्रमा प्रवेश गर्ने कार्यक्रम राखेको छ।

सो क्षेत्र आम मानिसले उपभोग गर्न पाउनुपर्ने माग राख्दै नागरिकहरु त्यहाँ पुग्दा सेनासँग आमनेसामने हुनेछन्।

tundikhel_43545.jpg

नागरिक आन्दोलनका अगुवा तथा विश्लेषक राजेन्द्र महर्जनले खरीको बोट रहेको स्थानसम्मै पुग्ने बताए।

‘सकेसम्म सैनिक इलाकाभित्र रहेको टुँडिखेलको खरीबोटमै छिर्न खोज्छौँ। प्रजाबाट नागरिक हुने प्रक्रिया त्यही खरीबोटबाट सुरु भएकाले त्यसमा नागरिकको दाबी हुन्छ,’ महर्जनले भने, ‘अहिले पुनः प्रतिगमन गरेर नागरिकलाई प्रजा बनाउने प्रयास भइरहेको छ। त्यसको प्रतिरोध गर्न पनि सांकेतिक रुपमा हामी त्यहाँ जान खोजेका हौँ।’

रत्नपार्कबाट सुरु भएको मार्च भद्रकाली, सहिद गेट र पश्चिम गेट हुँदै टुँडिखेल प्रवेश गर्ने कार्यक्रम छ। सेनाले प्रवेश गर्न नदिए, रोकिएकै ठाउँमा कार्यक्रम गर्ने नागरिक अगुवाको तयारी छ।

‘टुँडिखेल नागरिकको हो, नागरिककै स्वामित्वमा आउनुपर्छ। टुँडिखेल अब बन्दुकको मौजा हुनुहुँदैन, शासकीय कर्मकाण्डको किल्ला हुनुहुँदैन, टुँडिखेल अब मुक्त हुनुपर्छ,’ बृहत् नागरिक आन्दोलनको अपिलमा भनिएको छ।

‘नागरिकले प्रयोग गर्न पाउनुपर्ने टुँडिखेल अतिक्रमण भइरहेको छ। भित्र जान दिइँदैन होला,’ महर्जनले थपे, ‘राज्य लोकतान्त्रिक भएको भए त यस्तो खालको माग दाबी गर्नै पर्थेन। राज्य सजिलै मान्छेको आवाज सुन्न तयार हुन्थ्यो। तर सत्ता कब्जा गर्ने, संविधान उल्लंघन गर्नेबाट त्यो खालको आशा गर्न सकिँदैन।’

पुस दोस्रो साताबाट सुरु भएको बृहत् नागरिक अन्दोलनअन्तर्गत शुक्रबार हुन लागेको यो ठूलो कार्यक्रम हो। कार्यक्रममा केही पेसागत संगठनले पनि ऐक्यबद्धता जनाएका छन। आन्दोलनका संयोजक युग पाठकका अनुसार पेसागत संगठनहरु नागरिक आन्दोलनकै ब्यानरमा सहभागी हुनेछन्।

tundikhel_235.jpg

टुँडिखेलभित्र हुने कोणसभामा पाँच कविले कविता वाचन गर्नेछन्। सरिता तिवारी, खगेन्द्र संग्रौला, मोहन गोले, जितेन्द्र चेपाङ, रिता साह, अलोकसिद्धी तुलाधर र नेपाल डंगोलले मन्तव्य राख्नेछन्।

कार्यक्रममा बृहत् नागरिक समाजले तीन पेज लामो घोषणापत्र जारी गर्दैछ। घोषणा पत्रको सारमा अहिलेको संकट उत्पीडित जाति, समुदायका हकअधिकारका आंकाक्षाहरु पुरा नभएको कारण देखिएको उल्लेख छ। त्यसलाई समाधान गर्न नागरिकहरुले राजनैतिक र सांस्कृतिक जागरणको काम गरिहरहनपर्ने बताइएको छ।

कार्यक्रममा सहभागी बन्न नागरिक अभियान्ताहरुले भिडियोमार्फत आह्वान पनि गरेका छन्।

लेखक अर्चना थापाले फागुन ७ गते नेपालका नागरिकले रैतीबाट नागरिक हुने अवसर पाएको दिनको सम्झनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरिन्। उनले टँुडिखेल नागरिकको स्पेस भएकाले यसलाई सत्ताको कब्जाबाट मुक्त गरिनुपर्ने बताइन्।

यस्तै नेपाल बारका महासचिव लिलामणि पौडेल, जनस्वास्थ्यविद डा. शरद वन्त, नेपाल इन्जियरर्स एसोसिएसनका केन्द्रीय कार्यकारी सदस्य एभरेस्ट केसी लगायतले पनि नागरिक सभामा सहभागी हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .