समाज


बन्दुकधारीले अपहरण गरेका नाइजेरियाका २७९ छात्रा रिहा

बन्दुकधारीले अपहरण गरेका नाइजेरियाका २७९ छात्रा रिहा

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १२:२०,

देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन्। अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ।

उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन्।

“अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ,” जाम्फारा राज्यका गभर्नर डाक्टर बेलो मतावाले भने।

उनले बालिकाहरु सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद रहेको पनि बताए। नाइजेरियामा बालिका अपहरणका घटनाहरु लामो समयदेखि हुँदै आएका छन्।

अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए। तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो।

भारी मात्रामा हातहतियार सहितका आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा हालैका वर्षहरुमा निकै उपद्रो मच्चाइरहेका छन्।

उनीहरुले मानिसहरुलाई फिरौतीका लागि अपहरण गर्ने, बलात्कार गर्ने तथा लुटपाट गर्ने गरेका छन्।

नाइजेरियाको सेनाले यस क्षेत्रमा सन् २०१६ देखि कारबाही गरिरहेको छ र सन् २०१९ मा बन्दुकधारीहरुसँग शान्ति सम्झौता पनि गरिएको थियो तर आक्रमणका घटना रोकिएका छैनन्।

गत डिसेम्बरमा कन्काराको एक विद्यालयबाट ३०० भन्दा बढी बालक अपहरण गरिएको थियो। यो क्षेत्र राष्ट्रपति मुहम्मदु बुहारीको गृहराज्य काट्सिनामै रहेको छ। तर पछि ती बालकलाई अपहरणकारीले मुक्त गरेका थिए।

तर चिबोकबाट जिहादी समूहले गरेको २७६ जना स्कुले बालिकाको अपहरण भने निकै डरलाग्दो थियो। सरकारी फौजको व्यापक कारबाहीपछि केहीलाई जिहादी समूहले मुक्त गरेपनि अझै पनि केही बालबालिका बेपत्ता छन्।

लेगोसस्थित अनुसन्धान संस्था एसबी मार्गनका अनुसार सन् २०१६ को जनवरीदेखि मार्च २०२० को अवधिमा मात्र अपहरणकारीलाई एक करोड १० लाख डलर फिरौती बुझाइएको छ।

इन्टरनेसनल क्राइसिस ग्रुपको अर्को अध्ययन अनुसार विद्यालयमा सुरक्षा खतरा रहेको भन्दै यस अफ्रिकी क्षेत्रमै विद्यालय नजाने बालबालिकाको संख्या विश्वमै सबैभन्दा बढी छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad