समाज


हाम्रो पात्रो एपको डाउनलोड १ करोड

हाम्रो पात्रो एपको डाउनलोड १ करोड

नेपालखबर
चैत ११, २०७७ बुधबार ५:४८,

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो।

कम्पनीका अनुसार योसँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको छ। यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, साझेदार र हाम्रोपात्रो टिमलाई धन्यवाद व्यक्त गरे। ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ उनले भने।

एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यसअघि १० लाख र ५० लाख पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन (वि.सं.बाट ई.सं.मा र इस्वी संवतबाट वि.सं.मा) फिचरसँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्तेपात्रो बोकेर गएका थिए। तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन। त्यसैले सुरुमा आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति गर्नकै लागि उनले ‘हाम्रो पात्रो’ एप बनाए। कुनै विशेष योजनाका साथ उक्त एप बनाइएको भने थिएन। एप तयार भएको एक वर्षपछि अर्थात सन् २००९ तिर मात्रै हाम्रो पात्रो एप एप्पलको आईओएस एप स्टोरमा राखिएको थियो। आईओएसमा हाम्रो पात्रोको डाउनलोड पाँच लाखभन्दा बढी रहेको छ।

गुगल प्ले स्टोरमा रिलिज भएको एक वर्षमै यो एपको डाउनलोड एक लाखभन्दा बढी पुगेको थियो। सन् २०१५ नहुँदै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गरेको थियो। अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड बनेको छ। एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन्।

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन्। विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोटआदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ। दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ।

हालै हाम्रो पात्रोमा म्यासेञ्जर समेत थपिएको छ। बेटा भर्सनमै रहेको यो फिचर प्रयोग गर्नेहरुको संख्या एकलाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ। निकट भविष्यमै हाम्रो पात्रोमा म्यासेञ्जरको फुल भर्सन समेत आउनेछ। त्यस्तै आईओएस प्रयोगकर्ताले समेत म्यासेञ्जर प्रयोग गर्न पाउने कम्पनीका संस्थापक उप्रेतीले बताए।

हाम्रो पात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन्। नेपाली, अंग्रेजीसहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

नेपालमा सस्ता मोबाइलका प्रयोगकर्ता धेरै हुने भएकाले उनीहरुलाई र्याम र स्टोरेज फुल हुने समस्या आइरहन्छ। यस्तोमा फोटो, भिडियो वा एप मध्ये कुनै न कुनै सामग्री डिलिट गर्नुपर्ने बाध्यता बन्न पुग्छ।

यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रो पात्रोले एउटै एपमा धेरै फिचरहरु समावेश गर्दै लगेको हो। त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा पनि हाम्रो पात्रो नै पहिलो नम्बरमा आउँछ।

फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रुपमा मेहनत गरिरहेका छन्। अहिले हाम्रो पात्रोको साइज डिभाइस अनुसार १२ देखि २३ एमबी मात्र छ।

हाम्रो पात्रो इंकअन्तर्गत अहिले हाम्रो पात्रोसँगै हाम्रो किबोर्ड, हाम्रो डिक्सनरी, हाम्रो म्यागेजिन लगायतका एपहरु पनि छन्। सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै डाउनलोडमा दश लाखको आँकडा पार गर्ने पहिलो नेपाली एप हो। यो एपको डाउनलोड अहिले ६० लाखभन्दा बढी छ। हाल हाम्रो पात्रोमा ३५ जनाको टिम कार्यरत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad