बटेश्वर गाउँपालिकाको कामकाज २५दिनपछि सुचारु भएको छ। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र आर्थिक प्रशासन फाँटमा आन्दोलनरत पक्षले लगाएको ताला शुक्रबार खोलेपछि कामकाज सुचारु भएको हो।
गएको फागुन १८ गते गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख घुस रकम फालेर भागेपछि भोलिपल्ट स्थानीय नागरिक समाज एवम् राजनीतिक दलले उनलाई कारबाही लगायतको मागसहित संयुक्त रुपमा तालाबन्दी गरेका थिए।
कार्यालय र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति पश्चात शुक्रबार ताला खोलिएको हो। गाउँपालिका अन्तर्गतको कुनैपनि सरकारी कार्यालयमा विशेष अदालतको निर्णय नआउञ्जेलसम्म नयाँ विज्ञापन नगर्ने तथा सरुवा सहमति नदिने, गत वर्षको सम्पन्न विकास निर्माणको सम्पूर्ण फाइल तालाबन्दी गरी राख्ने र चालु आर्थिक वर्षको आयव्यय दुई महिनाभित्र सार्वजनिक गर्ने दुवै पक्षबीच सहमति भएको हो।
सहमतिपछि शुक्रबार नै तालाबन्दी खोलेर कामकाज सुचारु भएको गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतोले जानकारी दिइन्।

गाउँपालिका अध्यक्षको कार्यकक्षमा गरिएको तालबन्दी भने यथावत रहेको छ। वार्ताको लागि आन्दोलनरत पक्षबाट गएको बुधबार नै स्थानीय नागरिक समाज तथा राजनीतिक दलबाट राममणि कुशवाहा, अजय राउत, विजय महतो, रामकुमार महतो कान्छा र राजदेव महतो रहेको ५ सदस्यीय टोलि गठन भएको थियो।
उपाध्यक्ष महतो र वार्ता टोलिले बुधबार नै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग भेटेर कार्यालय नियमति सञ्चालनको लागि छलफल गरेको थियो। प्रमुख जिल्ला अधिकारीको सुझाव अनुसार जनप्रतिनिधि र आन्दोलनरत पक्षले वार्ता गरी चारबुँदे सहमतिमा कार्यालय सञ्चालन गर्न ताला खोलेको हो।
लामो समयदेखि आर्थिक प्रशासन र अधिकृतको कक्षमा तालबन्दी हुँदा कार्यालय नियमित सञ्चालनमा समस्या भएको थियो। निमित्त प्रशासकीय अधिकृत रुद्रनारायण यादव मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन भएका र जनप्रतिनिधिले समेत चासो नदेखाउँदा कार्यालयको कामकाज भद्रगोल भएको थियो।
गाउँपालिका परिसरमा नवनिर्मित भवनको भुक्तानी प्रयोजनको लागि गाउँपालिका अध्यक्ष राउतले सेवाग्राहीसँग ८ लाख रुपैयाँ लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलिले पछ्याएको थाहा पाएपछि उनले गाडीबाट ८ लाख रुपैयाँ फालेर फरार भएका थिए।
गाउँपालिकाको उक्त गाडी र चालकलाई भने सोही दिन अख्तियारले नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाएको छ भने गापा अध्यक्ष अहिलेसम्म फरार छन्।
याे पनि :
बटेश्वर गाउँपालिकामा दुई सातादेखि ताला, फरार अध्यक्षको खोजी गर्दै अख्तियार
घुसकाण्डपछि बटेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि ‘भूमिगत’

प्रतिक्रिया