डडेल्धुरा डडेल्धुरामा अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन्।
आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन्।
दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउदका दुई भैँसी, दुई गोरु, एक गाई र तीन वटा बाख्रा मरेका हुन्। केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्याबमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको स्थानीयवासी हरेन्द्र साउदले बताए।
गत वर्ष जिल्लाका अन्य भेगमा पनि पशुहरुमा अज्ञात रोगको संक्रमण देखापरेको थियो।
मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ। केही दिन अगाडि पशु चौपाया बिरामी भएको भन्ने खबर आएलगत्तै पशु चौपायालाई छालासम्बन्धी रोगविरुद्धको आवश्यक खोप दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताए।
साउनदेखि असोजसम्म देखापर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट संक्रमित भएका जनावरलाई खोप दिने गरिन्छ। यो रोग लागेपछि पशु चौपायाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र बिनालक्षण पनि मर्न सक्ने पशु अधिकृत भण्डारीको भनाइ छ। रासस

प्रतिक्रिया