समाज


नेपालमा खोप लगाएपछि मृत्यु भएकाको कारण जान्न अनुसन्धान गरिँदै

नेपालमा खोप लगाएपछि मृत्यु भएकाको कारण जान्न अनुसन्धान गरिँदै

यज्ञराज जोशी
चैत २२, २०७७ आइतबार १३:३७,

कोरोनाविरुद्धको खोप लगाएपछि मानिसहरुको मृत्यु भएको खबर जिल्लाजिल्लाबाट आएपछि स्वास्थ्य मन्त्रालयले ती घटनाहरुको अनुसन्धान गर्ने भएको छ।

खोप लगाएपछि ८ जनाको निधन भएको र त्यसको कारणबारे अनुसन्धान हुन लागेको खोप पश्चात हुने अवान्छित घटना अध्ययन कमिटीका अनुसन्धान प्रमुख डा.धनराज अर्याल बताए।

‘खोप लगाएपछि मृत्यु भएको खबर आएको छ। हामी अनुसन्धान गर्दैछौँ। मृत्युको कारण अनुसन्धानपछि थाहा हुनेछ,’ डा. अर्यालले नेपालखबरसँग भने।

भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप उपहारमा दिएपछि नेपालले गत माघ १४ गतेबाट दशैभर खोप अभियान सुरु गरेको थियो। पहिलो चरणमा अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको थियो।

दोस्रो चरणमा सरकारले ६५ वर्षमाथिको उमेर समूहमा खोप लगाएको थियो। हाल नेपालमा १६ लाख ७० हजारले पहिलो मात्रा खोप लगाइसकेका छन्।

‘जति पनि केस आएका छन् दोस्रो चरणमा खोप लगाएका वृद्ध उमेरका छन्,’ डा. अर्यालले भने, ‘कसैले खोपले गर्दा नै त्यसो भएको भनेर कम्प्लेन गरेको छैन। तर, खोप लगाएपछि कसैमाथि केही घटना भएपछि त्यसको अध्ययन गर्नुपर्ने सिस्टम नै हुन्छ।’

अर्यालले अहिले तथ्यांक संकलनको काम भइरहेको र आगामी हप्तासम्म रिपोर्ट आउन सक्ने बताए। टोलीमा मन्त्रालयसँगै विश्व स्वास्थ्य संगठनका कर्मचारी पनि संग्लन छन्।

उनले प्रारम्भिक रुपमा हेर्दा कसैको मृत्यु पनि खोपसँग सम्बन्धित नदेखिएको बताए। उनले वृद्ध उमेर र बिरामीका कारण ती व्यक्तिको मृत्यु भएको हुनसक्ने बताए।

‘प्रारम्भिक रुपमा भन्दा खोपसँगै सम्बन्धित भएर निधन भएको भनेर कुनै पनि फाइल आएको छैन। त्यो भयो भने ठूलै घटना हुन्छ। त्यस्तोको जानकारी हामीले अन्तर्राष्ट्रिय रुपमै दिनुपर्छ,’ अर्यालले भने, ‘बिरामी नै हुनुहुन्थ्यो, बिरामी भएरै जानुभयो भन्ने आएको छ। तर त्यसो भने पनि हामीले अध्ययन गर्नुपर्छ।’

उनले नेपालमा हालसम्म १७ लाखले खोप लगाइसक्दा कसैलाई पनि गम्भीर समस्या नदेखिएको बताए। सामान्य ज्वरो, दुखाइ, सुन्निने बाहेकका साइडइफेक्ट नदेखिएको उनले बताए।

डा. अर्यालले कोभिसिल्ड खोप लगाएर अहिलेसम्म विश्वमा कहीँपनि मृत्यु भएको प्रमाणित नभएकाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरे।

‘खोप नै लगाएर मृत्यु भएको भनेर प्रमाणित तथ्य त अहिलेसम्म कहीँ पनि छैन,’ उनले थपे।

 डा. अर्याल भन्छन्: प्रारम्भिक रुपमा मृत्यु खोपसँग सम्बन्धित देखिँदैन

नेपालमा खोप लगाएपछि केही व्यक्तिको निधन भएको खबरको वास्तविकता के हो?
खोप लगाएपछि मृत्यु भएको छ भन्ने खबर आएको चाहिँ हो। त्यसको हामी विस्तृतमा अनुसन्धान गर्छौँ। जति पनि केस आएका छन्, सबै वृद्ध उमेरका छन्। खोप लगाएपछि कसैमाथि केही घटना भएपछि त्यसको हामीले अध्ययन गर्नुपर्ने सिस्टम नै हुन्छ। गर्नैपर्ने हुन्छ। कसैले खोपले गर्दा नै त्यसो भएको भनेर कम्प्लेन गरेको छैन। तैपनि हामी अनुसन्धान गर्छौँ।

बिरामी र बिरामीको वरिपरिका मान्छेसँग उसको पुरै हिस्ट्री लिएर अनुसन्धान हुन्छ। त्यसपछि के कारणले भयो, भन्न सकिन्छ। कोरोना मात्रै हैन अरु पनि खोप लगाएपछि कुनै घटना भएपछि त्यो खोपसँग सम्बन्धित छ कि छैन भनेर यही प्रकारले अनुसन्धान गरिन्छ।

अनुसन्धान प्रक्रिया कहाँ पुग्यो? प्रारम्भिक रुपमा हेर्दा के देखिन्छ?
अहिले डेटा कलेक्सन भइरहेको छ। आगामी हप्तासम्ममा सक्छौँ होला।

औपचारिक रुपमा रिपोर्ट त आएको छैन। तर प्रारम्भिक रुपमा हेर्दा कसैले खोपले गर्दा भएको भनेको छैन। बिरामी नै हुनुहुन्थ्यो, बिरामी भएरै जानुभयो भन्ने आएको छ। तर उहाँहरुबाट त्यस्तो आएपनि हामीले अध्ययन गर्नुपर्ने भएकाले विस्तृतमा अध्ययन गर्दैछौँ।

प्रारम्भिक रुपमा भन्दा खोपसँगै सम्बन्धित भएर निधन भएको भनेर कुनैपनि फाइल आएको छैन। त्यो भयो भने ठूलै घटना हुन्छ। त्यो नेपालमा मात्रै नभएर हामीले डब्लूएचओलाई पनि जानकारी गराउनुपर्ने हुन्छ।

कहाँकहाँका, कति जनाको त्यसरी मृत्यु भएको जानकारी आएको छ?
हामीले मृत्युमात्रै हेर्ने होइन। कुनैपनि गम्भीर रिपोर्ट भयो भने त्यसको पनि हामीले अनुसन्धान गर्नुपर्छ। ज्वरो आएर केही दिन अस्पताल भर्ना भएपनि हामीले उक्त रिपोर्टको अध्ययन गर्नुपर्ने हुन्छ। मृत्युको कुरा गर्दा विभिन्न जिल्लाबाट ८ वटा जति रिपोर्ट आएको छ। सबै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका हुनुहुन्छ।

नेपालमा खोप लगाएपछि अरु गम्भीर समस्या पनि देखिएका छन्?
नेपालमा १७ लाख जनाले खोप लगाएका छन्। अहिलेसम्म सिरियस केस देखिएको छैन। अलिकति ज्वरो आउने, जिउ दुख्ने हुन्छ नै भनेका छौँ। कसैलाई अलिकति एलर्जी भयो होला, कसैलाई ज्वरो बढी आयो होला। अहिलेसम्म यस्तो हुनसक्छ है भनेका कुराहरु मात्रै भएका छन्। अपेक्षा नै नगरिएका साइडइफेक्ट नेपालमा देखिएका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .