समाज


संक्रामक रोग विशेषज्ञ भन्छन् : यी कारण कोरोनाबाट हुने मृत्युको दर पहिलेभन्दा बढी हुने खतरा छ

संक्रामक रोग विशेषज्ञ भन्छन् : यी कारण कोरोनाबाट हुने मृत्युको दर पहिलेभन्दा बढी हुने खतरा छ

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ६:१९,

नेपालमा नयाँ भेरिएन्टका कोरोना भाइरस भित्रिएसँगै यसबाट हुने संक्रमण तथा मृत्युको दर पहिलो लहरमा भन्दा बढी हुने जोखिम देखिएको विज्ञले बताएका छन्।

संक्रामक रोग विज्ञ डा. अनुप सुवेदीले अघिल्लो पटकभन्दा यसपटक महामारी घातक हुने खतरा देखिएको जानकारी दिएका हुन्।

पहिलेभन्दा अहिलेको भाइरसबाट संक्रमण मात्र तीव्र नभई मृत्युदरसमेत बढ्ने केही कारण उनले औंल्याएका छन्।

डा. सुवेदी भन्छन् :

यसपटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारण : 

१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।

२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।

३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका अन्य दीर्घरोगी र अरूको पनि स्वास्थ्यमा धेरै सुधार भएको थियो। त्यसैले अघिल्लो उभारमा धेरैलाई कोभिड लाग्दा अरु बेलाभन्दा फोक्सो स्वस्थ अवस्थामा रहेको बेला लागेको थियो र त्यसले रोग थेग्न अपेक्षाकृत सजिलो भएको थियो होला।

४. अहिले स्थिति उल्टो छ। ऐतिहासिक वायु प्रदूषणले सबैको श्वासप्रश्वास प्रणालीको स्वास्थ्य बिग्रेको छ, अस्पतालमा श्वासप्रश्वासका समस्या लिएर आउनेको चाप निकै बढेको छ। श्वासप्रश्वासप्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागे दोहोरो समस्याको मार पर्ने देखिन्छ।

कोभिड र प्रदूषणबाट पनि बच्न सर्जिकल मास्क हैन, एन–९५ मास्क नै लगाउनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad