समाज


कोरोना संक्रमण भयावह हुने देखिएपछि कागजी रुपमा तात्यो मन्त्रालय

कोरोना संक्रमण भयावह हुने देखिएपछि कागजी रुपमा तात्यो मन्त्रालय

यज्ञराज जोशी
बैशाख ८, २०७८ बुधबार १४:३३,

यसै हप्ता संसदको शिक्षा तथा स्वास्थ्य समितिले काठमाडौँका ठूला अस्पतालका निर्देशकहरुलाई कोभिडको अवस्थाबारे छलफल गर्न बोलाएको थियो।

वीर, पाटन, त्रिवि शिक्षण, टेकु, सिभिलसहित निजी अस्पतालका निर्देशक पनि सो बैठकमा उपस्थित थिए। निर्देशकहरुले अस्पतालको अवस्थाबारे सुनाएको कुराले समितिका सदस्य सांसद जीवनराम श्रेष्ठ सशंकित भए।

‘अस्पतालका निर्देशकहरुसँग छलफल गर्दा उहाँहरुले देश पहिलो चरणकै संकटउन्मुख देखिएको कुरा राख्नुभयो,’ श्रेष्ठले भने, ‘आईसीयू, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिरजस्ता कोभिडका लागि अतिआवश्यक औषधि–उपकरणको अभाव देखिन थालिसकेको रहेछ। केही बिरामी थपिँदा अस्पतालले थाम्नै नसक्ने अवस्थामा आएको रहेछ।’

श्रेष्ठले अहिले भारतले स्वास्थ्य सामाग्रीको निर्यातमा प्रतिबन्ध लगाएका कारण नेपालमा जोखिम बढेको बताए। संक्रमितको उपचारका लागि नभइ नहुने अक्सिजनलगायतको आपूर्ति र व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

‘पहिलो चरणमा हामीले लिएको अनुभावका आधारमा अहिलेको स्थितिमा सुधार भएको होला भन्ने ठानेका थियौँ,’ श्रेष्ठले भने, ‘तर, अस्पतालहरुका कुरा सुन्दा पहिले जस्तो अभावको अवस्था थियो, अहिले पनि त्योभन्दा फरक छैन। सरकारले कागजमा यो गर्‍यौँ र त्यो गर्‍यौँ भनेको छ। तर, काम भएको देखिएन। स्वास्थ्य क्षेत्रको क्षमता बढाउन सरकार लागेको देखिएन।’

नेपालमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दैछ। आइतबार १ हजार ९६ जनामा देखिएको संक्रमण, सोमबार १२ सय ८१, मंगलबार १७ सय ३६ जनामा संक्रमण देखिएको थियो। बुधबार यो संख्या बढेर २३ सय ५१ जना पुगेको छ।

परीक्षण गरिएका मध्ये १२.२ प्रतिशतमा संक्रमण देखिएको छ। संक्रमण दर १२ प्रतिशत नाघ्नु जोखिमपूर्ण मानिन्छ। नेपालमा पोजिटिभ देखिएकामध्ये १.१ प्रतिशतको मृत्यु भएको छ।

काठमाडौं, ललितपुर र बाँकेमा ५ सय भन्दा बढी संक्रमित देखिएका छन्। त्यसबाहेक संक्रमण दर अत्याधिक भएको यूके भेरियन्ट र डबल म्युटेन्ट पनि देखिसकेकाले अस्पताल भर्ना हुने क्रम पनि बढेको छ। कम उमेरका संक्रमितको संख्या पनि बढ्दै छ।

बुधबार देखिएका २ हजार ३५१ मध्ये ३० देखि २९ वर्ष उमेर समूहका ५३४ र २० देखि २९ उमेर समूहका ५४८ जनामा संक्रमण देखिएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार अहिले नेपालमा गत वर्षको भन्दा संक्रमण तीव्र बनेको छ।

‘भारत र नेपालमा उस्ताउस्तै संक्रमण देखिएको छ। भारतकै जस्तो भयावह होला भन्ने डर छ,’ उनले भने, ‘गतवर्ष पनि हामीले भारतकै अवस्था पछ्याएका थियौँ। एकदमै सचेत नहुने हो भने गम्भीर अवस्था हुने देखिन्छ।’

स्वास्थ्य मन्त्रालयले दैनिक ११ हजारसम्म संक्रमण पुग्ने आकलन गरिसकेको छ। यसवर्ष जेठ–असारमा संक्रमण उच्च विन्दुमा पुग्ने सरकारी प्रक्षेपण छ।

७२ घण्टाभित्र अस्पतालका बेड तयार गरिँदै
कोरोना संक्रमण भयावहउन्मुख बनेपछि मन्त्रालयले पनि तयारीमा तीव्रता दिएको छ। काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै १२ सय बेड कोरोना संक्रमितका लागि छुट्याउने सम्झौता गरिसकेको छ। तर, यो सम्झौता अहिले कागजमा मात्र सिमित छर

वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना अस्पताल बनाउने निर्णय भएको छ। जहाँ दुई सय शैय्या हुनेछ। तीन दिनभित्र यसलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिसक्ने मन्त्रालयको भनाइ छ। जहाँ २४ आईसीयू र ५० बेड एचडीयू हुनेछन्।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार १८ वटा एचडीयू तयार छन् भने बाँकी ३२ वटा एचडीयू तुरुन्त जडान गर्न निर्देशन दिइसकिएको छ।

यस्तै कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अस्पतालमा पनि ३ सय शैय्यासहित अस्पताल निर्माणको निर्माण भइसकेको छ। जहाँ अक्सिजनसहितको सुविधा हुनेछ।

त्यसबाहेक एपीएफ अस्पतालमा २ सय बढी बेड कोरोना संक्रमितका लागि छुट्टाइएको छ। उक्त अस्पतालमा २० बेडको आईसीयू र ४० बेडको एचडीयू छ।

भक्तपुरको दुवाकोटमा २ सय बेड र खरिपाटीमा ३ सय बेड ७२ घण्टाभित्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागलाई जिम्मेवारी दिइसकेको डा. पोखरेलले जानकारी दिए।

त्यसबाहेक काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पनि १८ वटा आईसीयू र २५ वटा एचडीयू सञ्चालन गरिएको छ।

‘केही अस्पतालबाट आइसीयू भेन्टिलेटरको अभाव भन्ने समाचारमा सुनिन आएपनि तथ्यांकमा त्यो देखिँदैन,’ उनले भने, ‘यो चरणको संक्रमण बढ्नेसक्ने भन्दै हामीले तयारीलाई पनि तीव्रता दिएका छौँ।’

उनले उपत्यकाका अस्पतालको आईसीयू र भेन्टिलेटरको अवस्थालाई मन्त्रालयले निगरानी गरिरहेको र आवश्यक पर्ने बिरामीले ११३३ र १११५ मा फोन गरेर खाली भएको अवस्थाबारे बुझ्न सक्ने बताए।

गतवर्षभन्दा यसवर्ष ५०० आईसीयू बेड र २६० आइसीयू बेड थपेको तथ्यांक उनले प्रस्तुत गरे।

ब्युँताइँदै आइसोलेसन केन्द्र
संक्रमण बढ्दै गएपछि मन्त्रालयले बन्द भइसकेका आइसोलेसन केन्द्रहरु ब्युताउँन थालेको छ।

उपत्यकामा मंगलबारसम्म २ हजार बेड क्षमताका आइसोलेसन केन्द्रहरु पुर्नस्थापना भइसकेको र आवश्यक परेको खण्डमा थप निर्माण गरिने पोखरेलले बताए।

कीर्तिपुर, खरिपाटी, दुवाकोट लगायत स्थानका आइसोलेसन केन्द्रहरु पुनः सञ्चालनमा ल्याइन लागिएको हो।

‘त्यसबाहेक ७ वटा प्रदेशमा दुई हजार बेडको आइसोलेसन बेड तयार पार्न भनिसकेको छौँ,’ उनले भने, ‘स्थानीय तहले पनि आफ्नो क्षेत्रमा आवश्यकता अनुसार आइसोलेसनहरु निर्माण भइरहेको छन्।’

७२ घण्टाभित्र रेम्डिसिभिर ल्याउन आग्रह
मन्त्रालयले आपूर्तिकर्ताहरुलाई ७२ घण्टाभित्र रेम्डिसिभर औषधि ल्याउन आग्रह समेत गरेको छ। पोखरेलले बुधबार नै आपूर्तिकर्तासँग यस विषयमा कुरा गरेको र उनीहरुलाई आवश्यक पर्ने सहजीकरण मन्त्रालयले गरिदिने बताए।

रेम्डिसिभिरले सिकिस्त अवस्थामा भेन्टिलेटरमा पुगेका बिरामीलाई मद्दत पुर्‍याउने चिकित्सकहरु बताउँछन्।

‘भारतले निर्यात प्रतिबन्ध गरेका कारण बंगलादेशबाट ल्याउन आपूर्तिकर्तालाई ७२ घण्टाको समय दिएका छौं,’ पोखरेलले भने, ‘उहाँहरुले ल्याउन सक्नुभएन भने जीटूजी प्रक्रियाबाट बंगलादेश वा भारतबाट ल्याउन सरकारलाई अनुरोध गर्छौँ।’

पोखरेलका अनुसार अहिले बजारमा १३ हजार भाइल रेम्डिसिभिर उपलब्ध छ। एउटा बिरामीलाई ६ भाइल लाग्दा यो २ हजार जनालाई पुग्छ।

मन्त्रालयले कम्तीमा ३६ हजार भाइल रेम्डिसिभिर स्टकमा राख्ने योजना बनाएको उनले बताए। त्यो हुँदा ६ हजार गम्भीर बिरामीका लागि पुग्छ। जसले ४५ दिनदेखि ६० दिनसम्म धान्ने मन्त्रालयको प्रक्षेपण छ।

४५ दिन बढीलाई पुग्ने अक्सिजन थपिने
संक्रमितहरुको संख्या बढेसँगै कम्तीमा ४५ दिनलाई अक्सिजन अभाव नहुने गरी स्टक राख्ने तयारी भएको मन्त्रालयले बताएको छ। अक्सिजन स्टक थप्न आयातकर्ता र स्थानीय उत्पादकसँग कुरा भइरहेको पोखरेलले बताए।

‘अक्सिजन आयातकर्तालाई मन्त्रालयमा बोलाएका छौँ। भारतबाट ल्याउन सकेका छैनन्,’ उनले भने, ‘उहाँहरुलाई चाहिने सहजीकरण हामीले सबै गरिदिने भनेका छौँ। अप्रिल महिनाभित्र जति ल्याउनुहुन्छ, त्यो भन्दा दोब्बर ल्याएर स्टक राखिदिनुस भनेका छौँ।’

उनले ४५ दिनदेखि ६० दिनलाई पुग्ने अक्सिजन पुग्ने अवस्था पुर्‍याउने तयारी मन्त्रालयको रहेको बताए। त्यसका लागि देशभित्रै सञ्चालित अक्सिजन प्लान्टहरुलाई ७२ घण्टाभित्र दुई तीन सिफ्ट सञ्चालन गर्न भनिसकेको उनले बताए।

‘मन्त्रालयले आँकडामात्रै देखायो’
संसदको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिका संयोजक सांसद श्रेष्ठले मन्त्रालयले देखाएको तथ्यांक अमिल्दो भएको बताए।

‘अस्पतालका निर्देशकहरुको कुरा सुन्दा मन्त्रालयको तथ्यांकभन्दा ठिक विपरीत अवस्था छ,’ उनले भने, ‘कयौँ बिरामीले बेड नपाएको अवस्था छ। मन्त्रालय कागजमा दौडिरहेको छ, व्यवहारमा धेरै पछि देखियो।’

उनले भारतले आवश्यक स्वास्थ्य सामाग्री रोकेकाले सामाग्री आपुर्तिका लागि सरकारसँग वैकल्पिक योजना हुनुपर्ने बताए। उनले थपिएका आईसीयू र भेन्टिलेटर पनि जनशक्ति अभावले सञ्चालनको अवस्था नरहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .