नेपाली सेनाले धौलागिरी हिमालमा १५ वर्ष पहिले दुर्घटनामा परेको हेलिकप्टर र दुई वटा शव फेला पारेको छ।
धौलागिरी बेस क्याम्पदेखि २ हजार मिटर दक्षिणतर्फ माउण्टेन उपकरणसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट करिव १ किलोमिटर इटाली बेस क्याम्पतर्फ ९एन–एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला परेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।
मृतकको पहिचान खुलेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको जंगी अड्डाले जनाएको छ। सन् २००६ मा दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकप्टर भएको खुलेको छ।

मानव अवशेषहरु व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग समन्वय थालिएको सेनाले जनाएको छ। नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलनका क्रममा फेला पारेको हो।
नेपाली सेनाले सगरमाथासहित ६ वटा हिमालको सरसफाई गरिरहेको छ। वैशाख १२ गतेदेखि १६ गतेसम्ममा कुहिने १५५ केजी र नकुहिने ४ हजार ६९९ केजी फोहोर संकलन गरेको छ।

प्रतिक्रिया