समाज


आजदेखि थप सात जिल्लामा निषेधाज्ञा

आजदेखि थप सात जिल्लामा निषेधाज्ञा

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १:१५,

कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या ३० पुगेको छ। सरकारले थप ७ वटा जिल्लामा निषेधाज्ञा घोषणा गरेसँगै देशभर निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ३० पुगेको हो।

आइतबार (आज) देखि लागू हुनेगरी मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुरामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन्।

काभ्रे र मकवानपुरका मुख्य राजमार्ग र आसपासको क्षेत्रलाई केन्द्रित गरी निषेधाज्ञा जारी गरिएको छ। त्यस्तै, गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ तथा बाजुराको हिमाली गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ।

गोरखा र प्यूठानमा वैशाख २४ गतेसम्म, उदयपुर र गुल्मीमा २५ गतेसम्म, काभ्रेमा २६ गतेसम्म, मकवानपुर र बाजुरामा ३१ गतेसम्म निषेधाज्ञा लागू हुने स्थानीय प्रशासनले जनाएका छन्।

काठमाडौं उपत्यकाका तीनसहित देशका २३ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको सरकारले जनाएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, रूपन्देही, पाल्पा र सुनसरीमा जिल्लाभर निषेधाज्ञा लागू छ।

झापा, बागलुङ, बर्दिया, दार्चुला, डडेलधुरा, कालिकोट, कञ्चनपुर, जाजरकोट, सल्यान र रुकुम पश्चिममा आंशिक निषेधाज्ञा जारी गरिएको छ।

वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले तराई र काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमित ५ सय र हिमाली र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको थियो।

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। केही जिल्लामा आंशिक र कतिपय जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको हो। आवश्यकता हेरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले फरकफरक आदेश जारी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad