समाज


संक्रमितको उपचार र अन्तिम संस्कारको समाचार संकलनमा अवरोध आपत्तिजनक : महासंघ

संक्रमितको उपचार र अन्तिम संस्कारको समाचार संकलनमा अवरोध आपत्तिजनक : महासंघ

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १४:३२,

नेपाल पत्रकार महासंघले कोरोना संक्रमण भइ उपचाररत र ज्यान गुमाएकाको अन्तिम संस्कारका क्रममा फोटो खिच्न र समाचार संकलन गर्न अवरोध गरिएकोप्रति आपत्ति जनाएको छ।

कोभिड संक्रमणको दर बढेसँगै राजधानीस्थित अस्पतालमा उपचारका लागि जानेको संख्या बढेको तथा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको सन्दर्भमा विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका बारेमा समाचार संकलन गर्न पुगेका र अन्तिम संस्कारको फोटो खिच्नका लागि पशुपति क्षेत्रमा पुगेका पत्रकारलाई पशुपति क्षेत्र विकास कोष, अस्पताल प्रशासन र प्रहरीबाट समाचार संकलनमा रोक लगाउने काम भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

‘कोभिड संक्रमणको दर वृद्धि हुँदै गएपछि मुलुकमा यतिखेर निषेधाज्ञा जारी गरिएको छ। यो अवस्थामा कोरोना संक्रमणका बारेमा सन्देशमूलक र सूचनामूलक सामग्री तथा कोरोना संक्रमितका बारेमा यथार्थ समाचार प्रवाह गरेर नागरिकलाई सुसूचित र सचेत गराउने कर्ममा जुट्नु प्रेसको दायित्व हो’ महासंघले भनेको छ, ‘यही दायित्व निर्वाहका लागि कोरोना संक्रमणको जोखिम मोलेर समाचार संकलन गर्न पुगेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरी र अस्पताल प्रशासनबाट समाचार संकलनमा रोक लगाइएको यो घटना आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो।’

महासंघले पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पुर्‍याउने यस्ता हर्कतको कडा शब्दमा भर्त्सना गरेको छ। र, प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

साथै, महासंघले कोरोनासम्बन्धी समाचार सामग्री प्रवाह गर्दा मानवीय संवेदना र पत्रकार आचारसंहितालाई ध्यान दिन तथा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड र उपायहरु अवलम्बन गर्दै सावधानी अपनाएर पेशागत कर्ममा जुट्न पत्रकारहरुमा विशेष अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .