समाज


सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

नेपालखबर
भदौ १, २०७६ आइतबार ५:२३,

आज भदौ १ गते, ओल्के सङ्क्रान्ति। बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ। ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ। वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुशीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ती पनि भन्ने गरिएको छ।

यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाइन्छ।

बूढी हाल्ने
ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै मिलेर रूखका हाङ्गाबिङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ। यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताए। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ।

भगवान् कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतना राक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको शवलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्रा–टुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad