अरब सागरमा बनेको चक्रवातले भारतमा विध्वंस मच्चाउन थालेको छ।
आज यसले अझ भयंकर रूप लिने खतरा बढेको त्यहाँका मौसमविद्ले अनुमान गरेका छन्।
यसको गति तीव्र बन्दै गएको र सोमबारसम्म प्रतिघण्टा १६० किलोमिटर हुन सक्ने मौसमविदको अनुमान छ।
भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात प्रभावित धेरै क्षेत्रमा तीव्र गतिमा आँधीसहित ठूलो वर्षा भइरहेको छ।
केरलको एर्नाकुलम र कोझिकोड जिल्लामा आँधीका कारण २ जनाको मृत्युसमेत भइसकेको छ। २ हजार मानिस विस्थापित भएका छन्।
केरल राज्यका मुख्यमन्त्री पिनाराई विजयनले चक्रवातका कारण विद्युत् र कृषि क्षेत्रमा ठूलो नोक्सान भएको बताएका छन्।
नेपालमा कस्तो असर पर्ला?
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।
अहिलेसम्मको विश्लेषणअनुसार मंगलबार र बुधबार खासगरी देशको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरी पनि चल्ने सम्भावना छ। साथै त्यसको असर मध्य क्षेत्रसम्म पनि आइपुग्ने सम्भावना छ।
‘अहिलेसम्म चक्रवात समुद्रमै छ, भोलितिर त्यो भारतको गुजरात जमिनमा प्रवेश गर्ने सम्भावना छ,’ मौसमविद् बासीले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘जमिन प्रवेश गरेपछि त्यसले कुन दिशा समात्छ भन्ने कुराले नेपालमा पर्ने असर अनुमान गर्न सकिन्छ।’
चक्रवात समुद्री तटमा रहँदासम्म त्यसको ‘ट्रयाक’ सजिलैसँग अनुमान गर्न सकिने तर त्यो जमिनमा प्रवेश गरेपछि कुन बाटो लाग्छ भन्ने अनुमान गर्न कठिन हुने उनले बताइन्।
‘यसैले यसको छिनछिनमा अपडेट गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘हामी अपडेट गरिरहेका हुन्छौं, तपाईंहरूले अपडेट लिइराख्नुपर्ने हुन्छ।’
अहिले (आइतबार बिहान करिब ११ बजे) सम्मको विश्लेषणअनुसार यसले खासगरी नेपालका पश्चिमी क्षेत्र र मध्य तथा पूर्वका पहाडी भेगमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा गराउने सम्भावना देखिएको उनले बताइन्।
भारतका मौसमविद्का अनुसार अरब सागरमा बनेको सामुद्रिक आँधी (चक्रवात) उत्तरतर्फ अघि बढिरहेको छ र गोवाको पन्जिमदेखि लगभग २५० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईदेखि ६२० किलोमिटर दक्षिण–दक्षिण–पश्चिम पुगेको छ।
चक्रवातका कारण तमिलनाडुका तटीय जिल्ला र लक्षद्वीप टापुका क्षेत्रमा पनि ठूलो वर्षा भइरहेको छ।
Shares

प्रतिक्रिया