बुधबार बिहानै ५ बजे ट्रयाक्टर लिएर महेन्द्र गुरुङ मनाङतर्फ लागेका थिए। लमजुङ बेसीसहर–६ मा श्रीमती, दुई छोरी र एक छोरासहित उनी भाडाको घरमा बस्दै आएका छन्।
श्रीमती ३६ वर्षीया उमा गुरुङलाई सञ्चो थिएन। उनी विस्तारामै आराम गरिरहेकी थिइन्। छोरीहरुलाई आमाको ख्याल राख्नू, केही परे फोन गर्नू भन्दै महेन्द्र घरबाट निस्किएका थिए।
‘म ट्रयाक्टर लिएर हिँडेको आधाघण्टा जति भएको थियो, घरबाट एक्कासि फोन आयो,’ महेन्द्रले नेपालखबरसँग भने, ‘केही सामान छुट्यो कि भन्ने लागेको थियो। तर उताबाट भूकम्पले घर भत्किएको र श्रीमती पुरिएको खबर आयो।’
महेन्द्रले एकछिन सोच्नै सकेनन्। नजिकै चिनजानका एकजनालाई मोटरसाइकल मागे। ट्रयाक्टर सहचालकको जिम्मा लगाएर उनी मोटरसाइकलमा घरतिर लागे।
‘बिहान जाँदा सग्लो घर चिराचिरा परेको थियो। एकातिरको भाग भत्किएको थियो,’ महेन्द्रले भने, ‘श्रीमतीलाई भने स्थानीयले उद्धार गरेर अस्पताल लगिसकेका रहेछन्। छोराछोरीलाई केही भएनछ। म पनि अस्पतालतिरै दगुरेँ।’
लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुलेलाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो। सो धक्काले महेन्द्रलगायत धेरेको घरमा क्षतिग्रस्त बनाएको छ।
घरको गारो भत्केर उमालाई पुरेको थियो। हारगुहारपछि स्थानीयले झण्डै १० मिनेटमा उनलाई उद्धार गरेका थिए।
‘उहाँ ओछ्यानमै पल्टिरहेको बेला पर्खाल भत्केर पुरै पुरिनुभएछ। कौसी सबै उहाँमाथि खसेछ। टाउकोमात्रै जसोतसो बचाउनुभएन। एकैछिनमा सबै छिमेकीहरु आए। कोहीले बेल्चा चलाए, कसैले ढुंगा फाले र गाह्रो फालेर निकाले।’
उमालाई घरबाहिर निकाल्दा उनको शरिरभरि धुलैधुलो भएको थियो। कपाल र कपडामा लागेको धुलो टकटकाउँदै स्थानीयले घरबाट बाहिर निकालिरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ।
लगत्तै उमालाई जिल्ला अस्पताल पुर्याइयो। उनको हात, खुट्टा, छातीको एक्सरे गरिएको छ। खुट्टामा प्लास्टर गर्नुपरेको छ। टाउकोमा सामान्य चोटबाहेक अन्य ठूलो चोट देखिएको छैन। अस्पतालमा तीन घण्टा बिताएपछि उमालाई घर ल्याइसकिएको छ।
‘बिहान एकछिन त ठूलै धक्का आयो। शरीर लगलग काम्यो। सबैजना घरबाट बाहिर निस्किए,’ श्रीकलाले भूकम्प जाँदाको क्षण सम्झिइन्, ‘थुप्रै घर चर्किएका छन्। अहिलेसम्म गाउँमा भने कोही सहयोगका लागि आएको छैन।’
उमाकी स्नातक अध्ययनरत छोरी सोनिका भूकम्प आँउदा भागेर जोगिएकी थिइन्। बिहानदेखि स्थानीयले मिलेर घरभित्र रहेका सामानहरु बाहिर निकालि दिएपनि त्रिपाल नहुँदा समानहरु त्यसै छरपष्ट रहेको उनले बताइन्।
‘घर पुरै चिराचिरा परेको छ। दराज सबै पुरिएका छन्। खाटहरु भाँच्चिएका छन्,’ सोनिकाले दुखेसो पोखिन्, ‘सामानहरु बाहिर निकालेर बसिरहेका छौं। कहाँ जाने, के गर्ने केही थाहा छैन।’
‘बिहान पुलिस एकछिन आएर फोटो खिचेर गएका हुन,’ महेन्द्रले भने, ‘राहतको कुरो अहिलेसम्म कसैले गरेको छैन। तत्काल बस्ने बसोबास भएको भए राम्रो हुन्थ्यो। पानी आउन लागिसक्यो। त्रिपालपनि छैन।’
वडाध्यक्ष भोजबहादुर रिमालले अहिले विवरण संकलनको काम भइरहेको बताए।
‘घरहरु धेरै चर्किएपनि मानवीय क्षति चाहिँ हुन पाएन,’ रिमालले नेपालखबरसँग भने, ‘अन्नपात खत्तम हुने किसिमको क्षति पनि देखिएको छैन। तैपनि आवश्यक परेकालाई राहत उपलब्ध गराउ विवरण संकलनको काम भइरहेको छ। ’
उनले प्रारम्भिक सूचनाअनुसार ३५–४० घर चर्किएको बताए। प्राविधिकले हेरेपछि विस्तृतमा जानकारी प्राप्त हुने उनी बताउँछन्। उनले पहिलो धक्का १५ सेकेन्डजति आएको बताए। गाउँमा मानिसहरु छिट्टै उठ्ने भएकाले सबैजना बाहिर निस्केका कारण मानवीय क्षति हुन नपाएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बुधबार बिहान भूकम्पले घर भत्किँदा उमासँगै विभिन्न स्थानका चार जना घाइते भएका छन्। अन्य घाइतेमा बेसीसहर नगरपालिका वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुसीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी छन्।
उनीहरुमध्ये खुसीमाया र गोविन्दलाई भने भाग्ने क्रममा चोट लागेको थियो। सबै घाइतेहरु जिल्ला अस्पताल लमजुङमा उपचारत छन्।
प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार भूकम्पले घाइतेहरुसँगै बेसीसहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ।
त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेसीसहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ। यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ।
लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का महसुस गरिएको थियो।
प्रतिक्रिया