डब्लूएचओका अनुसार सुरुवातमा भारतमै देखिएको कोरोनाको नयाँ रुप ‘डेल्टा भेरियन्ट’ यतिबेला सबैभन्दा खतरनाक र संक्रामक रहेको छ।
डब्लूएचओका विज्ञका अनुसार हाल B.1.671.2 बाहेक भारतमा अन्य भेरियन्टको खतरा कम भइसकेको छ।
भारतमा दोस्रो लहर निम्त्याउने गरी B.1.671.2 यसै भेरियन्टलाई जिम्मेवार मानिएको छ। यो ट्रिपल म्युटेन्ट भाइरस भएको बताइएको छ।
वर्तमान समयमा डेल्टा भेरियन्टकै कारण धेरै मानिस संक्रमित बनिरहेको पनि डब्लूएचओको भनाइ छ।
बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका भन्दा भारतमै देखिएको भेरियन्ट खतरनाक भएको पनि विज्ञको भनाइ छ।
यसअघि संचारमाध्यममा देशलाई उल्लेख गर्दै भारतीय भेरियन्ट, बेलायती भेरियन्ट भन्ने गरिएको थियो।
तर यतिबेला देशलाई उल्लेख गर्दै भेरियन्टको नाम भन्न पाइँदैन। डब्लूएचओले नयाँ प्रकारका कोरोनालाई नाम नै दिइसकेको छ।
नयाँ भेरिएन्ट जहाँ पहिले पत्ता लाग्यो त्यही ठाउँको नाम जोडेर भाइरसको नामकरण गर्ने चलनले देश तथा त्यहाँका नागरिकविरुद्ध विभेदकारी भावना विकास गराएकाले नयाँ प्रणाली ल्याइएको डब्ल्यूएचओले जनाएको छ।
जसअनुसार अब यूके भेरिएन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिएन्टलाई बिटा तथा भारतीय भेरिएन्टलाई डेल्टा भनिनेछ।
त्यस्तै ब्राजिलको भेरियन्टलाई गामा भनिएको छ। बीबीसी

प्रतिक्रिया