धनुषामा एक घरको कोठाभित्र सडेगलेको अवस्थामा युवकको शव फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका ७ बसहियाका बैद्यनाथ झाको घरमा सिरकले छोपेको अवस्थामा अन्दाजी २५–३० वर्षका युवकको शव बुधबार फेला परेको हो।
घरको बाहिर मूलगेट र कोठाको समेत ताल्चा बन्द रहेको अवस्थामा सिरकले छोपेको र शरीरको ७० प्रतिशत भाग सडेगलेको अवस्थामा सिरकमा शव भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
उनका अनुसार दुईधुर जग्गामा रहेको उक्त घरमा लामो समयदेखि कोही बसेका थिएनन्। घरधनी बैद्यनाथ झासहित उनका परिवार उदयपुरको गाइघाट बस्दै आएका छन्। उनको अर्को घर जनकपुरकै पेठिया बजारमा छ। गाइघाटबाट आउँदा उनका परिवार त्यहिँ बस्ने गर्दछन्।
सो घरमा कोही बस्दैनन्। त्यसैले कसैले युवकको हत्या गरेर शव छोपेर राखेको हुन सक्ने प्रहरीको आशंका छ।
घरमा शव गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर मूलगेट र भित्रकोठाको ताल्चा फुटाएर हेर्दा शव सिरकले छोपिएको अवस्थामा रहेको थियो।
‘घटना शंकास्पद छ। कसैले हत्या गरेर नै शव लुकाएको हाम्रो आशंका छ। लासको ७० प्रतिशत भाग गलेकाले छ। किराले खाएको छ। घटना लामै समयको हुनुपर्छ’ धनुषाका प्रहरी प्रवक्ता समेत रहेको डीएसपी मिश्रले नेपालखबरसंग भने।
शवलाई मुचुल्का गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया