युरोपमा कोरोना भाइरसको ‘नेपाली भेरिएन्ट’ भेटिएको दाबी गरेको भोलिपल्टै बेलायती पत्रिका डेली मेलले फेरि अर्को दाबी गरेको छ।
पत्रिकाले ‘नेपाल भेरिएन्ट’ अमेरिकामा पनि भेटिएको सनसनीपूर्ण समाचार प्रकाशित गरेको हो।
स्वास्थ्य विज्ञहरुको हवाला दिँदै प्रकाशित समाचारमा ‘पहिलोपटक नेपालमा देखिएको’ भाइरस अमेरिकामा पनि भेटिएको दाबी गरिएको छ।
यसको नाम ‘डेल्टा प्लस के४१७एन’ उल्लेख गर्दै यसलाई भारतीय र दक्षिण अफ्रिकी भेरिएन्टको संयुक्त स्वरुप (कम्बाइन म्युटेसन) भनिएको छ।
भारतीय भेरिएन्ट धेरै संक्रमण क्षमताको र दक्षिण अफ्रिकी भेरिएन्ट विकसित खोपविरुद्ध निष्प्रभावी हुने दाबी गरिएको छ।
सगरमाथा आरोहीबाट अमेरिका पुगेको दाबी
समाचारमा अमेरिकामा यो भाइरस सगरमाथा आरोहीबाट पुगेको हुनसक्ने दाबी गरिएको छ। डा. जेफ ब्यारेटलाई उद्धृत गर्दै कम्तीमा पनि एउटा केस अमेरिकामा भेटिएको उल्लेख गरिएको छ। ब्यारेट बेलायतमा रहेको वेल्कम स्यांगर इन्स्टिच्युटस्थित कोभिड १९ जिनोमिक्स इनिसिएटिभका निर्देशक हुन्।
यी केसहरु भारत, जापान, पोर्चुगल र बेलायतमा भेटिएको समाचारमा दाबी गरिएको छ।
यद्यपि डेली मेलले अमेरिकाको द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पुष्टि भने नगरिसकेको उल्लेख गरेको छ।
‘नेपाल भेरिएन्ट’ भेटिएको दाबी अस्वीकार
यता नेपालको स्वास्थ्य मन्त्रालयले र नेपालस्थित विश्व स्वास्थ्य संगठनले भने डेली मेलले यसअघि गरेको दाबी अस्वीकार गरिसकेका छन्।
नेपालमा छुट्टै भेरिएन्ट भेटिएको अहिलेसम्म पुष्टि नभएको दुवै निकायले प्रस्ट पारिसकेका छन्। डेली मेलले सरुवा रोग विज्ञहरुले नयाँ भेरिएन्टबारे हल्ला सुनेको र यो भेरिएन्ट खोप नलगाएका समुदायमाथि निकै हानिकारक भएको बताएको छ।

प्रतिक्रिया