समाज


नेपालमा कालो ढुसीले लिन थाल्यो ज्यान, औषधि अभाव

नेपालमा कालो ढुसीले लिन थाल्यो ज्यान, औषधि अभाव

यज्ञराज जोशी
जेठ २१, २०७८ शुक्रबार ११:४२,

शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपानेलाई अचेल दैनिक दुई दर्जन बढी फोन आउँछन्। फोन गर्नेहरुले आँखा दुखेको, परेला मोटाएझैँ भएको, टाउको दुखेको, छाला चिलाएको जस्ता समस्या सुनाउँछन्।

‘कालो ढुसी (म्युकरमाइकोसिस) हो कि भनेर आत्तिएर फोन गर्नेहरु बढेका छन्,’ नाक, कान तथा घाँटी रोग विशेषज्ञ समाजका महासचिव समेत रहेका डा. न्यौपानले भने, ‘यो रोग पुरानै हो। तर, अहिले कोरोना संक्रमणको उपचार गराइरहँदा या निको भइसकेकामा पनि देखिन थालेपछि नयाँ रोग आयो भनेर सर्वसाधारण डराइरहेका छन्।

कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहारमा असर पार्ने गर्छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अनुसार नेपालमा हाल १० जनालाई कालोढुसीको संक्रमण भइसकेको छ।

कालो ढुसीको संक्रमण विरलै देखिने भएपनि बेलैमा उपचार नगर्दा यो प्राणघातक समेत हुनसक्ने डाक्टरहरुको भनाइ छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

‘ब्ल्याक फंगसको लक्षण देखिएको आधारमा उनको उपचार भइरहेको थियो,’ उपचारमा संलग्न डा. शेरबहादुर कमरले भने, ‘ती व्यक्तिमा मधुमेह र मिर्गौलासम्बन्धी रोग पनि थियो।’

अस्पतालले कालो ढुसीकै कारण ती व्यक्तिको ज्यान र्गको बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने विस्तृतमा अध्ययनपछि मात्रै मृत्यु कारण भन्न सकिने बताएको छ।

मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले कोरोनाका बिरामीलाई नेपालमा कालो ढुसी देखिने समस्या बढिरहेको बताए। हालसम्म मन्त्रालयको रिपोर्टमा १० जनालाई कालो ढुसी भएको प्रमाणित भइसकेको छ।

डा. न्यौपानेका अनुसार कालो ढुसीको समस्या यसअघि वर्षमा आक्कलझुकल देखिने गरेको थियो। सोहीकारण यस रोगका बारे चर्चा भएको थिएन।

‘यो हाम्रो वरपरको वातावरण, हावा र माटोमा पाइने एक किसिमको अवसरवादी ढुसी हो,’ डा.पौडेलले भने, ‘यसले रोग प्रतिरक्षा कमजोर भएका व्यक्तिलाई मौका छोपी आक्रमण गरिहाल्छ।’

उनले यो कोरोना संक्रमण भएको व्यक्तिलाई मात्रै देखिने समस्या नभएर सबैलाई देखिनसक्ने बताए। यो रोग कोरोनाभाइरस जस्तो सरुवा पनि नभएको उनले बताए।

लक्षण र बच्ने उपाय
कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु, चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु, मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई कालोढुसीको जोखिम बढी हुने डा. पौडेलले बताए।

उनका अनुसार अनुहार, मुख, नाक, आँखावरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, आँखाको ढकनी सुन्निने, धमिलो देख्ने, नाकबाट रगत बग्ने वा कालो बाक्लो सिंगान आउने, नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने आदि यसका लक्षण हुन्।

कालोढुसीबाट बच्न सफा र सुख्खा मास्कको प्रयोग गर्ने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने, मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि खाने गर्नुपर्ने उनले बताए।

औषधि अभाव
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार एक्कासि यो रोग देखिएकाले बजारमा औषधि केही अभाव देखिएको बताए।

‘यसको औषधि एकदमै कम प्रयोग हुने गथ्र्यो। अकस्मात रोग देखिँदा कहीँकहीँ अभाव देखिएको हुनसक्छ,’ केसीले नेपालखबरसँग भने, ‘केही मात्रामा बाँकी छ। कति बाँकी छ भन्ने रेकर्ड छैन तर केही केही ठाउमा अभाव भएको भएर हामीले ल्याउन अनुमति पनि दिइसकेका छौं। भोलिपर्सिसम्ममा नेपाल आउँदैछ।’

कालोढुसीका बिरामीहरुको उपचारका लागि एम्फोटेरिसिन बी औषधि आवश्यक पर्छ। उक्त औषधि बंगलादेशबाट तत्काल एक हजार भाइल ल्याउन लागिएको उनले बताए।

‘यसअघि भारतबाट सहजै यो औषधिको आयात हुँदै आएको थियो,’ उनले भने, ‘तर भारतमा पनि ब्ल्याक फंगस देखियो र त्यहाँ औषधि प्रतिबन्ध लगाएपछि अलि अभाव देखिएको हो। अब औषधि आयात भएपछि अभाव हुँदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .