समाज


अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

कार्लोस फबाल
भदौ ७, २०७६ शनिबार ८:३,

ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ।

पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा परिचित अमेजन जङ्गलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएका छन्।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले शुक्रबार अमेजन जङ्गलको डढेलो नियन्त्रणमा सघाउन सेना परिचालनको आदेश दिएका छन्।

विश्वका प्रकृतिप्रेमीले अमेजोनको डढेलो नियन्त्रण गर्न ब्राजिल सरकारले बेवास्ता गरेको भन्दै सजायस्वरुप ब्राजिलसँगको व्यापार रोक्न विश्वसमुदायले ध्यान दिनुपर्ने आवाज उठाएसँगै राष्ट्रपति बोल्सेनारोले यस्तो आदेश दिएका हुन्।

ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जङ्गलमाथिको आकाशमा बाक्लो धुँवा निरन्तर देखिएको छ। एकजना एएफपी फोटोग्राफरका अनुसार सयौं किलोमिटरको दूरीमा आगोका लप्का जताततै देखिएका छन्।

“यो दृश्य सामान्य छैन। जङ्गलमा जताततै आगो लागिरहेकाले आकाश धुँवा नै धुँवाले ढाकेको छ,” राज्यको राजधानी पोर्टो भेल्होको एक होटलका कर्मचारीले बताए। पोर्टो भेल्हो नगरकै नजिक आगलागी भइरहेकाले पूरै नगर धुँवा र धुलोले छपक्क ढाकेको छ।

विश्वकै सबैभन्दा ठूलो जङ्गलको उपमा पाएको यस जङ्गलमा आगलागी भएपछि विश्वभर नै चिन्ता व्यक्त गरिएको छ। ब्राजिली राष्ट्रपति बोल्सोनारो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोबीच एकअर्का्विरुद्ध आरोप प्रत्यारोप नै चलेको छ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेजन जङ्गलको डढेलोलाई “अन्तर्राष्ट्रिय संकट”का रुपमा लिनुपर्ने बताएका छन्। उनले ब्राजिलले तत्काल नियन्त्रणका आपतकालीन उपाय अवलम्बन नगरे युरोपेली युनियनसँगको व्यापार सम्झौता नै अबरुद्ध पार्ने धम्की दिएका छन्।

पछिल्लो सरकारी तथ्याँकमा यस वर्षमत्र ब्राजिलमा ७६ हजार ७२० वटा बन डढेलोका घटना रेकर्ड गरिएका छन्। सन् २०१३ यता यो नै सबैभन्दा बढी डढेलाका घटना भएका हुन्। विज्ञहरुले चरिचरन वा बाली लगाउनका लागि जमिन तयार गर्न स्थानीयवासीले सुख्खा मौसममा जङ्गल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढेको बताएका छन्।

राष्ट्रिय अन्तरिक्ष अनुसन्धान इन्स्टिच्यूट (इन्पे)का अनुसार बुधबार र बिहीबारकै बीचमा अमेजनमा ७०० वटा आगलागीका नयाँ घटना भएका छन्। धुँवाका कारण साओ पाउलो समेतका नगर क्षेत्रको आकाशको हावाको गुणस्तर अत्यन्त न्यून विन्दुमा पुगेको थियो।

Related image

सोमबार यी क्षेत्रको आकाशलाई धुँवाले ढाकेका कारण दिउँसै रातिजस्तो भएको थियो। परिस्थिति अति नाजुक बन्दै गएपछि राष्ट्रपति बोल्सोनारोले शुक्रबार अबेर राति मन्त्रिपरिषदको बैठक समेत डाकेका।

उक्त बैठकले आगलागी नियन्त्रण गर्न र अमेजन आसपासका आपराधिक घटना नियन्त्रणमा ल्याउन सैनिक परिचालन गर्न स्वीकृति दिएको थियो। अमेजन वनक्षेत्रले ठूलो परिमाणमा अक्सीजन दिने भएकाले पनि यसलाई “पृथ्वीको फोक्सो”का रुपमा लिइन्छ। साथै यसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने गरेको छ।

ब्राजिलकै रियो डे जेनेरियो र साओ पाउलोमा हजारौं मानिसले अमेजनमा लागेको डढेलो नियन्त्रणमा सरकारी बेवास्ताको विरोध गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्। युरोपेली मुलुकहरुले ब्राजिलका राष्ट्रपतिमाथि दबाब दिनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगो नियन्त्रणमा ल्याउन सघाउने वचन दिएका छन्। एएफपी

Image result for amazon forest

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .