कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन्।
उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो। ‘इबोला संक्रमितहरुको संख्या तीन हजार थियो र उनीहरुमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको हो’ अधिकारीहरुले एएफपीलाई बताएका छन्।
बिहीबार कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारी अनुसार सो संक्रमणबाट दुई हजार छ जनाको ज्यान गएको छ। ती मध्ये एक हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो।
उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगष्टमा देखा परेको थियो। पछि सो प्रान्त हुदै कंगोको इतुरी प्रान्तमा सो प्रकोप फैलिएको थियो।
स्वास्थ्य अधिकारीहरुले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन्। अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको उक्त स्वास्थ्य बुलेटिनमा जनाइएको छ।
यो संक्रमणको नाम इबोला उत्तरी कंगोको एक नदीको नामबाट राखिएको बताइन्छ। उक्त नदी क्षेत्रमा यस संक्रमणका विरामी सन् १९७६ मा फेला परेका थिए।
यो संक्रमणबाट अफ्रिकी देशबाट हजारौँ नागरिकको ज्यान गएको छ। अफ्रिकी देशहरुमा केही वर्षदेखि यसको प्रकोप नराम्रोसँग फैलिएका समाचारहरु आइरहेका थिए। एजेन्सी
Shares
प्रतिक्रिया