समाज


भीमदत्तनगरमा बेथितीः खेती गरिएको जमिनको नक्सामा ‘ग्राभेल’ सडक

भीमदत्तनगरमा बेथितीः खेती गरिएको जमिनको नक्सामा ‘ग्राभेल’ सडक

गोकुल जोशी
असार १, २०७६ आइतबार ८:५६,

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा धर्मभक्त टोलमा खेती गरिरहेको जमिनको नक्सामा ग्राभेल सडक रहेको भेटिएको छ।

खेती भइरहेको जमिन नक्सामा ग्राभेल सडक देखिएपछि नक्कली सडक बनाएर कागजी प्रकृयामा ग्राभेल गरी नगरपालिकाको रकम हिनामिना भएको स्थानीयले आशंका गरेका छन् ।

सो कार्यमा भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष दामोदर महरा र नगरपालिकाका केही कर्मचारीको मिलेमतो रहेको आशंका गरिएको छ।

भीमदत्त नगरपालिका–२ देखि वडा नम्बर १९ को स्थानीय पीपल चौतारी जोड्ने १.५ किलोमिटर सडकखण्डमा ग्राभेल गरेको योजना वडा नम्बर–१९ को वडा कार्यालयमा छ।

स्थलगत रुपमा वडा नम्बर २ को सीमादेखि वडा नम्बर १९ को स्थानीय पीपल चौतारी जोड्ने सडकखण्डको ट्रयाक खोलिएको छैन। तर वडा नम्बर १९ को कार्यालयसँग भने सो सडकखण्डमा ग्राभेल गरेको योजना छ। नक्सामा सो खेती गरिरहेको जमीनमा सडक देखिन्छ। यद्यपी त्यहाँ सडकको ट्रयाक खोल्ने काम सुरु नै भएको छैन।

केही वर्ष अगाडि सडकको ट्रयाक खोल्ने काम भएको थियो तर पछि विभिन्न कारणले सडक खोल्ने काम रोकिएको थियो। यस्तो अवस्थामा वडा नम्बर १९ का वडाध्यक्ष दामोदर महराले भने सो सडकखण्डमा सडक ग्राभेल गरेको देखाउँदै लाखौँ रकम कुम्ल्याउने प्रपञ्च गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार वडाध्यक्ष महरारले त्यहाँ सडक ग्राभेलिङ्गका लागि भन्दै पाँच लाख रकम विनियोजित गरेका छन्।

वडा नम्बर २ को सीमादेखि वडा नम्बर १९ को स्थानीय पीपल चौतारी जोड्ने सडकखण्डमा पर्ने स्थानीयको जमीनको मालपोत बुझाउँदा ग्राभेल सडकको थप शुल्क तिर्नु परेपछि वडाअध्यक्ष र कर्मचारीको गलत नियत बाहिर आएको हो।

स्थानीय धिरबहादुर पालका सो सडकखण्डमा पर्ने चार कित्ता जमीन छन्। उनले आर्थिक वर्ष २०७५/०७६ को एकीकृत सम्पत्ति कर अन्तर्गत मालपोत तिर्दा सडक ग्राभेल अन्तर्गत थप अतिरिक्त शुल्क तिर्नु परेको छ। धिरबहादुर पालका १२०९, १६५४, २७७८, २७८१ गरी सो सडकखण्डमा पर्ने चार कित्ता जमिन छ। यसमा उनले सडक ग्राभेल बाफत थप अतिरिक्त २५० रुपैयाँ शुल्क तिरेको रसिद छ।

धिरबहादुर पालले तिरेको एकीकृत सम्पत्ति करको रसिदमा जग्गा विवरण अन्तर्गत ग्राभेल सडक जग्गा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा पालले एकीकृत सम्पत्ति कर तिर्दा सो सडकखण्डमा ग्राभेल सडकको शुल्क नतिरेको बताउँछन्। मालपोतमा कर तिर्दा ग्राभेल सडकको थप अतिरिक्त शुल्क तिरेपछि वडाध्यक्षको पछिल्लो प्रपञ्च सतहमा आएको हो।

‘मैलैँ कर तिर्दा थाहा पाएँ, यस अघिका वर्ष बढी तिर्नु परेको थिएन, यो वर्ष मात्रै बढी कसरी तिर्नु पर्यो भनेर खोज्दै जाँदा सडक ग्राभेल बाफत थप २५० तिर्नु परेको रैछ, म त अचम्म परे जहाँ बाटो नै खुलेको छैन, यहाँ त सडक ग्राभेल बाफतको कर लिएको रहेछ’ पालले भने।

यी बिषयमा वडा कार्यालयदेखि नगरपालिकाका कर्मचारीसंँग बुझ्दा कम्प्युटरको गल्ति होला भनेर टार्ने गरेको पालले बताए।

कथित ग्राभेलिङ्ग गरिएको सडकखण्ड अन्तर्गत स्थानीयका २५ कित्ता जमीन रहेका छन्।

‘नक्सामा भएको बाटो जनताले पाउनु पर्ने अधिकार हो तर यहाँ त बाटो नै नखोली ग्राभेल गरेको देखाउँदै वडा कार्यालयले पैसा खाने योजना बनाएको छ, यसरी पेलरै लैजान्छन् भने हामी जनताको गति के होला’ स्थानीय डम्मर जोराले भने।

यस्तै अर्का स्थानीय कुवेर भट्टले भने, ‘जनप्रतिनिधिहरुले यसरी विकास हैन विनास गरिरहेका छन्, राज्यको सम्पत्ति दोहन गर्ने काम गरेका छन्, यस बिषयमा छनविन हुनु पर्छ।’
यी विभिन्न बिषयमा वडाध्यक्ष दामोदर महरासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad