काठमाडौं पनि खुल्ला दिशा मुक्त जिल्ला बनेको छ। आज काठमाडौंलाई खुल्ला दिशामुक्त जिल्लाका रुपमा घोषणा गरिएको हो।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेश सांसद नारायण सिलवालले काठमाडौं जिल्ला खुल्ला दिशामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन्।
काठमाडौंलाई सन् २०१७ अगाडि नै खुल्ला दिशामुक्त जिल्लाका रुपमा घोषणा गर्ने कार्यक्रम थियो। यसका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाले क्रमशः काम गरिरहेका थिए। यसरी छरिएका कार्यक्रमले लक्ष्य हासील गर्न नसक्ने जनाउँदै २०६८ सालमा जिल्ला स्तरीय सरसफाइ गुरुयोजना लागु गरियो। त्यसपछिका कार्यक्रम साेही गुरुयोजनाले तय गरेका मार्गदर्शन तथा सिद्धान्तका आधारमा चलेका थिए।
२०७२ सालमा बिनाशकारी भूकम्पले चर्पी र सरसफाइका लागि आवश्यक संरचना भत्काएपछि घोषणा हुन सकेन। घोषणा सभामा बोल्दै प्रदेश सभा सदस्य नारायण सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नु पर्ने बताए।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले काठमाडौंलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने मापदण्ड यस अघि नै पूरा भइसकेको पनि घोषणा गर्न ढिला भएको बताए। चर्पी बनाएर मात्र पूर्ण सरसफाइ नहुने बताउँदै उनले स्थानीय तहबाट पूर्ण सरसफाइमा लाग्नुपर्ने खाँचो देखाए।
सोही क्रममा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सरसफाइसँग जोडिएका सबै अङ्ग क्रियाशील नभए प्राप्त उपलब्धी गुम्ने खतराप्रति सजग हुनुपर्ने बताए।
सभामा खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले, काठमाडौंलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियानका क्रममा अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको २७ करोड ८० लाख र सरकारको ६ करोड ६५ लाख रुपैयाँ बराबर खर्च भएको जानकारी दिए। ‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ, सफा र सुन्दर काठमाडौंको पहिचान’ नारासहित २०६५ सालदेखि काठमाडौंमा सरसफाइका कार्यक्रम शुरु भएका थिए।
यस अभियानका लागि राष्ट्रिय नारा ‘स्वास्थ्य, प्रतिष्ठा र विकासका लागि सरसफाइ’ भन्ने हो। काठमाडौं जिल्लामा सबैभन्दा पहिले २०७० बैशाख २७ गते साबिक नैकाप गाउँ बिकास समितिले ओगटेको क्षेत्र (अहिले चन्द्रागिरी नगरपालिका) लाई खुल्ला दिशामुक्ता गाविस घोषणा गरिएको थियो। जिल्लाको सबैभन्दा पछि २०७६ भदौ २४ गते काठमाडौं महानगरलाई ‘खुल्ला दिशामुक्त महानगर’ घोषणा गरिएको हो ।
खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौं जिल्लाका २ लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन्।

प्रतिक्रिया