समाज


संविधान दिवसको कार्यक्रममा सहभागी पुगेका सर्वसाधरणलाई बाहिरबाटै लखेटियो

संविधान दिवसको कार्यक्रममा सहभागी पुगेका सर्वसाधरणलाई बाहिरबाटै लखेटियो

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ७:५१,

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन्।

सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भएका हुन्। मूल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै हटाएपछि सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन्।

राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको टुंडिखेलभित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधरणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि दिएनन्। सबैलाई सहभागी भएर हर्षोल्लासपूर्वक संविधान दिवस मनाउन उर्दी पनि जारी गर्ने अनि कार्यक्रममा सहभागी हुन गएका सर्वसाधरणलाई कार्यक्रम हेर्नबाटै रोक्ने सरकारको व्यवहारले सर्वसाधरणलाई निकै दुःखी बनायो।

कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि तेह्रथुम सोल्माकी पार्वती कार्कीको मन पनि साह्रै दुख्यो। उपचारका लागि राजधानी आएकी पार्वती सरकारले आव्हान गरेको संविधान दिवसको कार्यक्रममा सहभागी भई हर्षोल्लास साट्नुको साथै केही अनुभव पनि बटुल्न चाहन्थिन्। तर, पर्खालबाहिर बसेर पनि हेर्न नपाएपछि उनी निकै दुःखी भइन् ।

बुढानिलकण्ठकी कमला बोहरा छोराछोरीलाई लिएर ऐतिहासिक महत्वको संविधान दिवसको कार्यक्रम देखाउन आईन् तर हेर्न पाइनन्। उल्टै सवारीको समय भयो भन्दै सुरक्षाकर्मीले झण्डै डेढघण्टा जहाँको त्यही रोकिदिए।

विराटनगरका गुरु अधिकारी र कृष्ण दाहालको अवस्था पनि उस्तै रह्यो । कार्यक्रम स्थलमा छिर्न त पाएनन् नै पर्खाल बाहिर बसेर पनि हेर्न नपाएपछि सडकमै बसेर आखा तन्काई तन्काई हेर्न बाध्य भए।

सानोठिमीका महेश दाहाल भने कार्यक्रम स्थलमा प्रवेश नपाएकोमा दुःखी त हुनुभएन तर संविधान दिवस मनाए जसरी नै सरकारले संविधानमा निहित नागरिकको अधिकार प्रत्याभूत गर्न सक्नुपर्ने धारणा राखे।

संविधानमा सबैको अपनत्व महसुस गराउनका लागि सबैको अनिवार्य सहभागीताको कुरा सरकारले जोड जोडले गरेको भएपनि सर्वसाधरणलाई मुख्य कार्यक्रम हेर्नबाट रोक लगाएपछि टुँडिखेल पुगेर कार्यक्रम हेर्न नपाएका सर्वसाधरण सरकारप्रति रुष्ट देखिएका थिए। संविधान दिवस मुलुकभर मनाइएको छ। संघीय सरकारले मुल कार्यक्रम राजधानीको टुँडिखेलमा आयोजना गरेको हो। त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन पनि गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad