समाज


अपडेट– बस दुर्घटनामा १४ को मृत्यु

अपडेट– बस दुर्घटनामा १४ को मृत्यु

नेपालखबर
असोज २४, २०७६ शुक्रबार १२:४९,

इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।

सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो। इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पचास बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुनसक्ने देखिन्छ। दुर्घटनामा घाइते धेरै भएको अनुमान छ। थप विवरण आउन बाँकी रहेको प्रनाउ काफ्लेले जानकारी दिए।

दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आचार्यले बताए। स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उनले जानकारी दिए। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको नेपालले जानकारी दिए। हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ।

बनेपा– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएकाको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार भइरहेको छ।
घाइतेमध्ये १३ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ।

बाँकी घाइतेको धुलिखेल सामुदायिक अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको गिरीले बताए। उनका अनुसार उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको घाइते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ सिपाटारका सूर्यबहादुर तामाङका अनुसार गाडीमा अधिक यात्रु रहेको र अगाडिको पाङ्ग्रामा हावा कम भएको भन्ने कुरा गरेको कारण गाडी रोकिसकेको अवस्थामा चिप्लेर पल्टेको हो। ‘विस्तारै रोकेर अगाडिको शीतलमा गएर काम गर्ने भनेर कुरा गरिरहेकै बेला गाडी चिप्लेर पल्टिहाल्यो’, तामाङले भने, ‘घाइतेमध्ये कोही दशैँमा घर आएर शहर फर्कने, कोही आफन्तकोमा आएर फर्कने रहेका छन्।’

यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल घाइतेको अवस्था बुझ्न धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा आएका छन्।

दुर्घटनापश्चात् उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाउने, स्थानीय सरकार, स्थानीय राजनीतिक दलहरु र सामाजिक व्यक्तित्व सबै खटिएको कारण छिटो उपचारका लागि पठाउन सहयोग भएको उनले बताए। ‘हामी सबै मिलेर उद्धार गर्ने काम ग¥यौँ’ मन्त्री दुलालले भने, ‘नेपाली सेना र निजी क्षेत्रको समेत हेलिकप्टर लगेर घाइतेहरुको छिटो उपचारको लागि व्यवस्था गरेका छौँ।’ घाइतेको जीवन सुरक्षाको लागि अपनाउनुपर्ने सबै सावधानी अपनाइरहेको मन्त्री दुलालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad