न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा चितवनको भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले उत्कृष्ट अङ्कसहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिनुभयो । ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ।
‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उनले बताए। सुशासन तथा व्यवस्थापन, चिकत्सकीय सेवा र फोहरमैला लगायतका वस्तुहरुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ।
यो हरेक वर्ष मन्त्रालयले गर्छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो।
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष स्तरवृद्धि गराउँदै आएको छ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार विसं २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ। रासस
Shares

प्रतिक्रिया