ad ad

समाज


पूर्वम्यादी मायाको हत्या : अर्कैसँग प्रेम गरेको शंकाले निम्त्याएको घटना

पूर्वम्यादी मायाको हत्या : अर्कैसँग प्रेम गरेको शंकाले निम्त्याएको घटना

फाइल तस्बिर


गोकुल जोशी
मंसिर २०, २०७९ मंगलबार १५:७, कञ्चनपुर

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहार र शिवनाथ गाउँपालिका–४ सोलपालाका २२ वर्षीय भरतराम कोलीबीच ७ महिनाअघि चिनचाज भएको थियो। 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरत पञ्चेश्वरमा खटिएका थिए। कोलीले भर्खरै सशस्त्र प्रहरीको जवान पदमा जागिर खाएका थिए।

त्यही ठाउँकै माया र कोलीबीच चुनावताका भेट भएको थियो। उनीहरु सामाजिक सञ्जाल (फेसबुक)मा समेत जोडिसकेका थिए। कुराकानी गर्दा गर्दै उनीहरुको प्रेम सम्बन्धसम्म पुगे।

स्थानीय तह निर्वाचनपछि भरत सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा खटिए। भरत पोखरामा हुँदा मायाले घरपरिवारले आफ्नो बिहे अन्त गर्न लागेकोेले लैजान भनेका थिए।

प्रतिनिधि र प्रदेश सभा चुनाव हुनाले भरत आउन सकेनन्। घरपरिवारसँग बुझ्दा मायाको बिहे अन्यत्र गर्न लागेको कुरा गलत भएको उनले थाहा पाए।

त्यसपछि भरत चुनाव सकाएर मंसिर ७ गते पोखराबाट हिँडे। मंसिर ९ गते शिवनाथ गाउँपालिका–४ सोलपाला घरमा पुगेका उनी दुईसम्म घरमै बसे।

फेसबुक र फोनमा कुराकानी गर्ने गरेका भरतले माया व्यस्त भएको मन पराउँदैनथे। शंका लागेपछि मायाको मोबाइल खोसेका थिए। 

मंसिर ११ गते पञ्चेश्वर गाउँपालिका–४ आमचोरबाट मायाको मोबाइल खोसेका भरतले दुई दिन त्यसलाई आफूसँगै राखे।

घरमा मायाको मोबाइल चलाएर उनको फेसबुक र फोनको कल लिस्ट हेरे। त्यस क्रममा मायाको अन्यसँग पनि प्रेम सम्बन्ध रहेको देखेको बयान भरतले प्रहरीसमक्ष दिएका छन्।

त्यसपछि भरतले घटनाको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मंसिर १३ गते मोबाइल लैजान भनेर उनले मायालाई शिवनाथ गाउँपालिका–६ को ओल्याओखडानी ठुलखोला सामुदायिक वनमा बोलाए। मायासँग उनकी १५ वर्षीया भदै नेहा पनि आएकी थिइन्।

उनीहरु घरबाट लुगा सिलाउन भनेर निस्किएका थिए। मायाको मोबाइल चेक गर्दा अन्य केटाहरुसँगको प्रेम सम्बन्धको शंकाले आक्रोशित भरतले घरबाटै चक्कु लिएर गएका थिए। 

‘मोबाइल चेक गर्दा अन्य केटाहरुसँग प्रेम सम्बन्धका कुरा गरेको देखेँ, अब मायासँग बिहे नगर्ने निचोडमा पुगेँ। धोका दिएकोले रिस उठिरहेको थियो, मोबाइल लैजान भनेर बोलाएँ, उनीसँगै भदै नेहा पनि आएकी थिइन्,’ उनले प्रहरीसमक्ष भनेका छन्, ‘नेहालाई मेरो फोन दिएर अलिक टाढा बसेर टाइम पास गर्न भने, फोनमा अन्य केटाहरुसँग भएको कुराकानीबारे केहीबेर प्रश्नहरू गरेँ, गहिरो प्रेम गर्थेँ तर धोका दिएजस्तै लागेकोले चक्कुले आक्रमण गरेँ।’

अन्यसँगको प्रेमसम्बन्धको आरोप लगाएर करिब एक घण्टा कुराकानी गर्दा  विवाद भयो। मायाले धोका दिएको लागेपछि उनले खल्तीको चक्कु निकालेर अगाडिबाट घाँटीमा रेटेको अनुसन्धानबाट खुलेको छ।

एकैछिनपछि नेहाले मायालाई देखेपछि घटना बाहिरिने डरले उनीमाथि पनि आक्रमण गरेको भरतको बयान छ।

नेहाको घाँटीमा चक्कु हानियो। त्यसले उनको घाँटीमा चोट लाग्यो। नेहाले भरतको चक्कु खोसेर प्रतिकार गर्दा हातको औँला बीचमा काटिएको थियो।

प्रहरी स्रोतका अनुसार नेहा र भरतबीच खोसाखोस चल्दा चक्कु टुट्यो। त्यसबेला अध्याँरो भइसकेको थियो। चक्कु प्रहारपछि घाइते नेहाले भागेर ज्यान जोगाएकी थिइन्।

अर्को दिन गोठालाले नेहालाई घाइते अवस्थामा फेला पारेपछि घटना बाहरिएको थियो। घाइते नेहाले सशस्त्र प्रहरीका जवान भरतको नाम किटान गरेपछि मृतक मायाका दाइले जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिए। 

घटनापछि फरार हत्या आरोपी कोलीलाई प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट भारत भाग्दै गर्दा समातेको थियो। उनीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‘दुई जनाबीचको प्रेम सम्बन्धमा मनमुटावका कारण हत्या भएको खुलेको छ,’ डिएसपी प्रेमबहादुर शाहीले भने, ‘अभियुक्तले मृतक युवतीलाई प्रेम गर्ने र उनको सम्बन्ध अरुसँग पनि भएको शंकाले योजनावद्ध तरिकाले हत्या भएको देखिन्छ।’

मृतक माया मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्यादी प्रहरी थिइन्। उनी मृत भेटिएको शिवनाथ गाउँपालिका–६ नजिकैबाट प्रहरीले  आरोपित कोलीको टोपी, घटनामा प्रयोग भएको रगतले लतपतिएको टुटेको चक्कु, मायाले प्रयोग गर्ने मोबाइल बरामद गरेको थियो।

अदालतबाट १० दिन म्याद थप गरेर कोलीमाथि विस्तृत अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए। ‘घटनामा अन्यको संलग्नताबारे पनि अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो केही भेटिएको छैन ।’

घटनापछि उनले प्रयोग गर्ने मोबाइल फोनको अन्तिम लोकेसन डडेल्धुरा आसपासको क्षेत्र देखाएको थियो। त्यसपछि मोबाइल ‘स्विच अफ’ गरेर उनी बेपत्ता भएका थिए।

केहीदिन रातको समयमा उनी सामाजिक सञ्जाल (टिकटक) मा पनि सक्रिय थिए। घटनापछि अर्को दिन कोली घरबाट हिँडेका थिए। त्यसपछि डडेल्धुरामा दुई रात बिताएका उनी कैलालीको अत्तरियामा पनि केही दिन बसे। 

आइतबार बिहान गाडीबाट महेन्द्रनगर पुगेका कोली भारततिर भाग्ने प्रयासमा थिए। त्यही क्रममा प्रहरीको फन्दामा परे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .