ad ad

समाज


भोजपुरका डीएसपी अपराधी जोगाउन लागेको आरोप, विरोधमा उत्रिए नागरिक र पीडितहरू

भोजपुरका डीएसपी अपराधी जोगाउन लागेको आरोप, विरोधमा उत्रिए नागरिक र पीडितहरू

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८० मंगलबार १९:३१, काठमाडौँ

विभिन्न घटनामा मुछिएका अभियुक्त र अपराधी जोगाउन लागेको भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरदकुमार थापाविरुद्ध स्थानीय नागरिकले आन्दोलन थालेका छन्। 

विभिन्न घटनाका पीडितहरुले मंगलबार पत्रकार सम्मेलन नै गरेर आत्मदाहसम्मको चेतवानी दिएका हुन्। 

डीएसपी थापा क्षेत्रीको कार्यशैलि प्रति असन्तुष्टि जनाएका नागरिक समाजका सदस्यहरुले कडा आन्दोलनको चेतावनी दिएका हुन्। 

जिल्लामा विभिन्न समयमा भएका आपराधिक घटनाका पीडितहरु र सरोकारवालाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै किटानी जाहेरी दिँदासमेत डीएसपी क्षेत्रीले जाहेरी लिन नमानेको आरोप लगाएका हुन्। 

गत जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका-९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब-इन्जिनियर मन्दीप राईको हत्या भएको भन्दै उनका बुवा डा. ईश्वरकुमार राईले दिएको किटानी जाहेरी पनि क्षत्रीले लिन बेवास्ता गरेको आरोप लागेको छ। 

डीएसपीले जाहेरी दर्ता गर्न नमानेपछि सरकारी वकिलमार्फत जाँदा पनि बेवास्ता गरेको राईले बताए। 

पीडित पक्षको पत्रकार सम्मेलन

‘मेरो छोराको मृत्यु भवितब्य हो कि कर्तव्य? यति अनुसन्धान गरि पाऊँभन्दा प्रहरीले सहयोग गरेन’, राईले भोजपुर सदरमुकाममा मंगलबार भने, ‘मैले न्याय पाइनँ भने डीएसपी क्षत्रीको नाममा आत्मदाह गर्छु।’

प्रहरीले अनुसन्धान अगाडि नबढाएर उल्टै कसुरदारको मनोबल उकास्ने काम भइरहेकको उनले बताए। किटानीमा उल्लेखित व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थाल्न पनि उनले माग गरे। 

यही असार २४ गते भोजपुर नगरपालिका-१२ पैयाँपानी टक्सार निवासी १८ वर्षीय दिप्सन प्रधानको हत्या प्रकरणमा प्रहरीले मुद्दा कमजोर बनाएर अनुसन्धान गर्न खोजेको पीडित पक्षको आरोप छ। 

गाउँबाट सिकार खेल्न जाऊँ भनेर ६ जनाले हत्या गरेको दाबी परिवारको छ। तर आरोपितमध्ये सुमन श्रेष्ठका भाइ डीएसपी क्षत्रीका भान्से भएकोले प्रहरी पनि उक्त घटनालाई ढाकछोपमा लागेको पीडितहरुले बताएका छन्। 

एकै जनालाई सबैको अपराध थोपरेर अन्य अभियुक्तलाई उन्मुक्ति दिन खोजेको दाबी दिप्सनका बुवा देवीप्रसाद प्रधानले गरेका छन्। 

उनले ज्यानसम्बन्धी कसुर, हातहातियार खरखजानासम्बन्धी र वन्यजन्तुको चोरी शिकारी गरेको अभियोग लागेकाहरुलाई डीएसपी थापाले उन्मुक्ति दिन खोजेको बताए। 

उता जिल्लाको दक्षिणी आम्चोक गाउँपालिका-३ थिदिंखा निवासी गोविन्द कमरले छिमेकीको कुटपिटका कारण आत्माहत्या गरेको भन्दै आफन्तले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न खोज्दा डीएसपी क्षत्रीले नमानेको परिवारले जनाएको छ।

छिमकी  पवित्रा राईको घरमा कुटपिट गरी गत असार ८ गते  बायाङ प्रहरी चौकीमा मिलापत्रपछि फर्किएका कमरले कुटाईको पीडा र सामाजिक प्रतिष्ठामा आँच पुगेकोले आत्महत्या गरेको परिवारको दाबी छ। 

घटनाबारे उजुरी दर्ता गर्न जाँदा प्रहरी निरीक्षकले हप्कीदप्की गरेको परिवारजनले जनाएका छन्। उक्त घटनामा अहिलेसम्म जाहेरी दर्ता नभएकाले प्रहरी पनि अपराधी जोगाउन लागेको उनीहरुको भनाइ छ। यस प्रकरणमा तत्काल आत्महत्या दुरूत्साहनको जाहेरी दर्ता गरीदिन परिवारजनको माग छ। 

पत्रकार सम्मलेनका क्रममा नागरिक समाज भोजपुरका प्रमुख परशुराम तिवारीले कसैको दबाब र प्रभावमा नपरी प्रहरीले काम गर्नु पर्ने बताए।

उता जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख क्षत्रीले कानुनविपरीत काम नगरेको दाबी गरेका छन्। उनले प्रमाणका भएमा कसैलाई नछाड्ने तर अनुसन्धानमा समय लाग्ने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .