ad ad

समाज


६० किलो सुनकाण्डको अनुसन्धान गर्न डीआईजीसहितको टोली थप, हङकङ उडे एसएसपी

६० किलो सुनकाण्डको अनुसन्धान गर्न डीआईजीसहितको टोली थप, हङकङ उडे एसएसपी

एआईजी किरण बज्राचार्य, जसको कमान्डमा हुँदैछ सुन तस्करीको अनुसन्धान


उजिर कार्की
भदौ १२, २०८० मंगलबार २१:५९, काठमाडौँ

हङकङबाट तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न थप अधिकृत खटाइएको छ। ६० किलो सुन बरामद गरेर आफैँ अनुसन्धान सुरु गरेको राजस्व अनुसन्धान विभागले यो विषय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा लगाएको छ। 

सुरुमा सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा अनुसन्धान सुरु गरेको थियो। तर अहिले सीआईबीले अन्तर्राष्ट्रिय सञ्जालसम्म अनुसन्धान थालेपछि थप अनुसन्धान टोली खटाइएको हो। 

अन्तर्राष्ट्रिय गिरोहको प्राविधिक अनुसन्धान गर्नका लागि विशेष ब्युरोलाई समेत यो प्रकरणको अनुसन्धानमा सामेल गरिएको छ। अनुसन्धान टोलीमा विशेष ब्युरो प्रमुख रामदत्त जोशीसहितको टोली खटाइएको छ। 

यस्तै विभिन्न देशका प्रहरीसँग समन्वय गर्न इन्टरपोल शाखाका एसपी अनुपम शमशेर जबरालाई पनि अनुसन्धान समितिमा राखिएको छ। अनुसन्धानमा दखल राख्ने उपत्यका बाहिरका प्रहरीलाई समेत यो प्रकरणका लागि झिकाइएको छ। 

धनकुटाका प्रहरी प्रमुख रहेका एसपी कृष्णप्रसाद कोइरालालाई प्रहरी प्रधान कार्यालयले काठमाडौं बोलाएर सुन प्रकरणको अनुसन्धानमा खटाएको छ। यस्तै मानव बेचबिखन ब्युरोका एसपी कृष्णप्रसाद पंगेनी सुरुदेखि नै अनुसन्धानमा संलग्न छन्। 

यसअघि राजस्वले अनुसन्धान सुरु गर्दा प्रहरीको सहयोग माग गरेपछि एसपी पंगेनीलाई खटाइएको थियो। 

तर गिरोहको अन्तर्राष्ट्रिय सञ्जालसम्म राजस्व पुग्न नसक्ने भन्दै सीआईबीलाई फाइल र प्रतिवादी साउन २१ गते बुझाइएको थियो। 

सीआईबीले अनुसन्धानको जिम्मा लिएपछि तस्करीमा संलग्न भनिएका मुख्य चिनियाँहरु पक्राउ परिसकेका छन्। केही व्यक्ति फरार रहेको सीआईबीले जनाएको छ। उनीहरुलाई कानुनी दायरामा ल्याउन इन्टरपोलमार्फत चीन र हङकङका प्रहरीसँग समन्वय गरिएको छ। भारतीय प्रहरीसँग पनि यस विषयमा समन्वय गरिरहेको सीआईबीले जनाएको छ। 

इन्टरपोलकै समन्वयमा नेपाल प्रहरीले अनुसन्धान अधिकृतलाई मंगलबार हङकङ पठाएको छ।

सीआईबीका एसएसपी दिनेशकुमार आचार्य मंगलबार बेलुका हङकङ गएका हुन्। राजस्वले बरामद गरेको ६० किलो सुन हङकङबाटै ब्रेक सुमा ल्याइएको थियो। कार्गोमा आएको उक्त सुन सहजै भन्सार जाँचपास समेत भएको थियो। भन्सार जाँच भएर बाहिर लैजाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो। 

डीआईजी रामदत्त जोशी

यस बारेमा अनुसन्धान गर्न नेपाल प्रहरी हङकङ समेत पुगेको हो। एसएसपी आचार्यले त्यहाँ स्थानीय प्रहरीको सहयोगमा सुन पठाउने गिरोहबारे अनुसन्धान गर्ने भएका छन्। प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार इन्टरपोलमार्फत स्थानीय प्रहरीसँग समन्वय भइसकेको छ। 

यस्तै चिनियाँ गिरोह नै संलग्न रहेको देखिएपछि त्यहाँ पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीले इन्टरपोल मार्फत पत्र पठाएको छ। नेपालमा भएको सुन तस्करीमा चिनियाँ नागरिकहरु नै मुख्य रुपमा संलग्न देखिएका छन्। 

पक्राउ परेका चिनियाँहरु विगत लामो समयदेखि नेपाल र भारतमा सुन तस्करीमा संलग्न रहेको भेटिएको छ। अहिले नेपालमा पक्राउ परेका तीन चिनियाँ विगतमा भारतमा सुन तस्करीमा संलग्न अभियोगमा कारबाहीमा परेपछि नेपालमा सुन तस्करी सुरु गरेको खुलेको सीआईबी स्रोतले जानकारी दिएको छ। 

सुन तस्करीमा संलग्न रहेको आरोपमा ७ जना चिनियाँसहित, भन्सार विभागका कर्मचारी र एजेन्ट गरी २३ जना पक्राउ परेका छन्। ती चिनियाँका भारतीय प्रेमिका महिलाहरु पनि पक्राउ परेका छन्। तर उनीहरुको सुन तस्करीमा संलग्नता भने खुलिसकेको छैन। 

सीआईबीले उनीहरुविरुद्ध संगठित रुपमा चोरीपैठारी गरेको आरोपमा अनुसन्धान गरिरहेको छ। ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने भए पनि राजस्वले अनुसन्धान थालेकै मितिबाट गणना हुने भएकाले सीआईबीले भदौ मसान्तभित्रैमा मुद्दा बुझाइसक्नु पर्ने बाध्यता छ। 

अनुसन्धानका लागि समय कम भएकाले पनि प्रहरी प्रधान कार्यालयले थप जनशक्ति पठाएको हो। जनशक्ति थप भएसँगै सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्ने युनिटलाई नयाँ भवनमा सारेको छ। मंगलबारदेखि नै उक्त कार्यालयबाट सुन प्रकरणको अनुसन्धान सुरु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .