ad ad

समाज


तीनकुने हत्याकाण्डको नालिबेली : श्रीमानको श्राद्ध गर्न आएकी सुभद्रा छोरा–बुहारीसँगै मारिइन्

तीनकुने हत्याकाण्डको नालिबेली : श्रीमानको श्राद्ध गर्न आएकी सुभद्रा छोरा–बुहारीसँगै मारिइन्

सञ्जय भण्डारीलाई सार्वजनिक गर्दै प्रहरी


उजिर कार्की
असोज ३, २०८० बुधबार २१:५०, काठमाडौँ

दोलखाको कालिन्चोक गाउँपालिका ८ की सुभद्रा भुजेल तीन दिनपहिले मात्रै काठमाडौं आएकी थिइन्। ७६ वर्षीया उनी श्रीमानको श्राद्धका लागि छोराहरु बसेकै ठाउँमा आएकी थिइन्। उनका तीनै छोरा काठमाडौँ बस्थे। 

सुरुमा उनी बालुवाटार बस्ने कान्छो छोराकोमा पुगिन्। त्यहाँबाट माइलो छोराको डेरा चाबहिल गइन्। तेस्रो दिन जेठी बुहारी त्यहीँ पुगिन् सुभद्रालाई लिन। 

दिउँसो ३ बजेतिर जेठी बुहारीसँग सुभद्रा तीनकुने गैह्रीगाउँतर्फ लागिन्। गैह्रीगाउँको दिव्य स–मिलमा उनका जेठा छोरा कुमार चौकीदारको काम गर्थे। 

कुमार दम्पती त्यही स–मिलमा बस्थे। कुमार चौकीदार भएकाले गेटबाट छिर्नासाथ उनी बस्ने कोठा आउँछ। सँगै भान्सा कोठा छ।

पाहुनाकोठा भने भित्रपट्टि छ। 

भित्रपट्टि नै बस्थे मोरङका दीपेन्द्र राई। दीपेन्द्रका बुबाले पहिले यही स-मिलमा काम गर्थे। १२ वर्षदेखि उक्त स-मिलमा काम गरेका बुबाले ६ महिनापहिले काम छाडेका थिए। तर, दीपेन्द्र भने यही कोठामा बस्थे। 

दीपेन्द्र वैदेशिक रोजगारीमा श्रमिक पठाउने एजेन्टको काम पनि गर्थे। प्रायः रक्सी खाएर राति कोठा फर्किन्थे। सोही विषयमा कुमार र दीपेन्द्रको बेलाबेला झगडा पर्थ्यो। रक्सी खाएर आएपछि मध्यराति गेटमा हल्ला गरेको भन्दै कुमार दीपेन्द्रलाई कराउँथे। 

दीपेन्द्रले गाउँकै भाइ नाता पर्ने नवीन भन्ने विशाल राईलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया अगाडि बढाएका थिए। वैदेशिक रोजगारीमा जाने प्रक्रियाका लागि आएका नवीन स–मिलभित्र रहेका दीपेन्द्रकै डेरामा बस्थे। 

कुमारले पटकपटक बाहिर डेरा खोज्नु भनेका थिए दीपेन्द्रलाई। तर उनले खोज्दैछु भन्दै टारिरहेका थिए। यसरी स-मिलभित्र कुमारको परिवार, दीपेन्द्र र नवीन बस्दै आएका थिए।

भदौ २९ गते दीपेन्द्र पेप्सिकोलामा दिनभरि पुल खेल्न गएका थिए। उनका भाइ नाता पर्ने नवीन कोठामै थिए। दीपेन्द्रले पुलमा बाजी जिते। जितेको रकमले उनी बेलुका साथीहरुसँग रक्सी खान थाले। 
***

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ का सञ्जय भण्डारी बोल्न सक्दैनन्। कक्षा ८ सम्म सिन्धुपाल्चोकमै अध्ययन गरेका सञ्जय त्यसपछि काठमाडौँ आए। र, काँडाघारीमा दिदीभिनाजुसँग बसेर पढ्न थाले।

जन्मजातै उनको बोली आएन। तर उनी इसारामार्फत आफ्नो कुरा भन्न सक्छन्। इसारा पनि नबुझ्नेलाई उनी लेखेर प्रष्ट पार्छन्। १२ कक्षामा पढिरहेका उनको कलेज नक्सालमा छ। 

दुईतीन महिनाअगाडिको कुरा हो। उनी कलेजबाट हिँडेर डेरा फर्किंदै थिए। चाबहिलनजिक एउटा मोटरसाइकलले उनलाई ठक्कर दियो। ठक्करले उनको खुट्टामा चोट लाग्यो। 

उनले मोटरसाइकल चालकसँग कुरा गरे। बोल्न नसक्ने सञ्जयका कुरा ती मोटरसाइकल चालकले बुझेनन्। उल्टै उनलाई गाली गरे र थप्पड हाने। 

त्यसपछि मोटरसाइकल चालक बाटो लागे। सञ्जय खुट्टा खोच्याउँदै डेरा फर्किए। तर त्यसपछि सञ्जयको मनमा एउटा कुरा खट्किरह्यो। आफूलाई ठक्कर दिएर उल्टै झापड हानेर भाग्ने मोटरसाइकल चालक को होला? 

हरेक दिन हिँड्दा उनी त्यही मोटरसाइकल चालक सम्झिन्थे। 

एकदिन तीनकुनेको दिव्य स-मिलमा उनको आँखा पर्छ। त्यहाँ उनले नवीन राईलाई देख्छन्। 

सञ्जयलाई लाग्छ– आफूलाई ठक्कर दिएर भाग्ने मोटरसाइकल चालक यिनै हुन्। त्यसपछि उनले पटक–पटक त्यहाँ पुगेर नियाल्छन्। जति पटक नियाल्दा पनि आफूलाई ठक्कर दिएर भाग्न व्यक्ति उनी नै भएको निष्कर्षमा पुग्छन्।

भदौ २९ गते भने उनी तयारीसाथ कोठाबाट निस्किए। उनले झोलामा खुकुरी पनि बोके। उनले पछि प्रहरीलाई लेखेर भनेका छन्, ‘आज त्यो मान्छे (नवीन) सँग कुरा गर्छु। कुरा नमिले र आफूलाई पहिले जस्तै कुटपिट गरे खुकुरी हान्छु।’

तीनकुने आएर उनी नवीन बस्ने गरेको स-मिलभित्र पस्छन्। अगाडिको गेट बन्द भएकाले उनी पछाडिपट्टिबाट जान्छन्।

बन्द गेट नाघेर उनी भित्र प्रवेश गर्छन्। भित्र पुगेर उनी नवीन राई बस्ने कोठामा पुग्छन्। तर उनी कोठामा पुग्दा नवीन त्यहाँ हुँदैनन्। सञ्जय कोठाभित्रको सोफामा बस्छन्। 

सञ्जय कोठाभित्रको सोफामा बसिरहेका बेला नवीन पुग्छन्। आफूलाई देख्नेबित्तिकै उनी चोरचोर भनेर चिच्याएजस्तो सञ्जयलाई लाग्छ। सञ्जयको इसारा नवीनले बुझ्दैनन्। नवीनको कुरा सञ्जयले सुन्दैनन्। 

तर सञ्जयलाई नवीनले गाली गरे जस्तो लाग्छ। नवीनले झपारेर उनलाई बाहिर निकाल्न खोजेका थिए। त्यसपछि सञ्जयले नवीनलाई खुकुरी प्रहार गर्छन्। पहिलो पटक खुकुरी प्रहार गर्नासाथ नवीन ढल्छन्। त्यसपछि अरु ४/५ पटक खुकुरी प्रहार गरेर सञ्जयले नवीनको हत्या गर्छन्।

नवीनको हत्या गरेको केही समयपछि त्यही स-मिलमा पाहुना आएकी सुभद्राको हत्या भयो। नवीनको हत्या गरिसकेका सञ्जयले नै उनको हत्या गरेका थिए। 

सञ्जयले प्रहरीसँग बताए अनुसार सुभद्राले घटनाको बारेमा थाहा पाएको र आफू पक्राउ पर्ने डरले उनको हत्या गरेको बताएका छन्। सुभद्रा आफ्नो झोला लिएर कोठामा सुत्न जाँदै थिइन्। त्यही बेला उनको हत्या भयो। 

सुभद्राको हत्यापछि कुमार परे सञ्जयको निसानामा। बोल्न र सुन्न नसक्ने सञ्जयलाई थाहा भएन बाहिर के भइरहेको छ। उनले शंकैशंकामा देखेजति मान्छेलाई सिध्याउँदै गए। आफूलाई मोटरसाइकलले ठक्कर दिने व्यक्ति नवीन भएको आशंकामा उनलाई सिध्याए। नवीनको हत्या गरेको देखेको आशंकामा सुभद्रालाई सिध्याए। त्यसपछि कुमार मारिए। कुमारलाई प्रहार गरेपछि कराउँदै पुगेकी कुमारकी श्रीमती अम्बिका पनि मारिइन्। उनीहरु सबैलाई सञ्जयले खुकुरी प्रहार गरेर हत्या गरेका थिए। हत्या पछि उनले शव कुनातिर सारे। हत्यामा प्रयोग गरेको खुकुरी सफा गरे। 

घटनाको अनुसन्धान गरेका काठमाडौं जिल्ला प्रहरी परिसरका अधिकृत भन्छन्, ‘चार जनाको हत्यापछि पनि उसले केही समय त्यहाँ बिताएको देखिन्छ। उसले अहिले हामीसँग कुरा हुँदा पनि त्यो कुरा स्वीकार गरेको छ।’
***

दिनभरि पुल खेल्दै राति रक्सी खाएर मात्तिका दीपेन्द्र सवा १० बजेतिर डेरामा फर्किएका थिए। तर गेट बन्द थियो। उनले गेट ठटाए। तर, खोल्न कोही आएनन्। 

केही बेर गेट बजाएपछि उनले भित्र रहेका भाइलाई टेलिफोन गरे १० बजेर १९ मिनेटमा आइपुगेका दीपेन्द्रले १०ः२९ मा कुमारलाई फोन गरे। फोन उठेन। १० बजेर ३२ मिनेट जाँदा नवीनलाई फोन गरे। त्यो पनि फोन उठेन। 

११ बजेर ७ मिनेट जाँदासम्म फोन गरिरहे। त्यतिबेलासम्म उनले कुमारलाई १५ र नवीनलाई १४ पटक कल गरिसकेका थिए। 

तर कुनै पनि फोन उठेको थिएन। आजित भएका उनी फेरि खल्ती छाम्न थाले। गेटको चाबी त खल्ती रहेछ। मात्तिएर फर्किएका उनले आफ्नै गोजीमा चाबी रहेको थाहा पाएनन्। 

चाबी फेला परेपछि गेट खोलेर भित्र पसे। उनी मोबाइलको लाइट बालेर भित्र गएको चार जनाको हत्या गरिसकेका सञ्जयले देखे। त्यसपछि सञ्जय पछाडिपट्टिको अर्को गेट नाघेर बाहिरिए जुन गेटबाट उनी भित्र पसेका थिए। 

सञ्जय भाग्दै गरेको दीपेन्द्रले पनि देखेका थिए। तर, नसामा रहेका उनीले खास वास्ता गरेनन्। उनी आफ्नो कोठामा पुगे। उनी पुग्दा नवीन सुतिरहेको देखिन्थे। दीपेन्द्रलाई भाइ निदाइरहेको होला भनेर झक्झक्याए, पल्टाए। 

तब मात्रै उनलाई भाइको हत्या भइसकेको थाहा भयो। 

अत्तालिँदै दीपेन्द्र बाहिर निस्किए। बाहिर ट्याक्सी चालकलाई उनले आफ्नो भाइको हत्या भएको बताएर प्रहरी कार्यालय पु¥याइदिन भने। 

दीपेन्द्र प्रहरी वृत्त बानेश्वरमा पुगे। प्रहरीले उनलाई नै नियन्त्रणमा लिएर सोधपुछ गर्यो। मातेका दीपेन्द्र प्रष्ट बताउन सक्ने अवस्थामा थिएनन्। उनले आफ्नो भाइको हत्या भएको बताए। 

तर उनको शरीरमा रगत लतपतिएको थियो। प्रहरी गएर घटनास्थलमा हेर्दा चार जनाको शव फेला पर्यो। उक्त स-मिलभित्र बस्ने दीपेन्द्र मात्रै जोगिएका थिए। सँगै बस्ने चार जनाको हत्या हुँदा दीपेन्द्र कसरी जोगिए भन्ने अनुसन्धानमा प्रश्न रह्यो। त्यही कारण दीपेन्द्र प्रहरी नियन्त्रणमा थिए। 

तत्कालै अनुसन्धान थालेको प्रहरीले कुकुर ल्याएर हत्यारा ट्रयाक गर्न थाल्यो। कुकुर जडिबुटीसम्म पुग्यो, त्यसपछि अलमलियो। त्यसले प्रहरीलाई हत्यारा त्यता भागेको शंका भइसकेको थियो। 

शनिबारको दिन थियो। चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। यता दीपेन्द्रलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको थियो। यसअघि प्रहरीका छुट्टाछुट्टै अनुसन्धान टोली हुँदा केही घटना अनुसन्धानमा असर परेको थियो। 

उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक दीपक थापाले शनिबार दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा अनुसन्धान समिति बनाए।

समितिमा काठमाडौं प्रहरी परिसरका पनि एक डीएसपीलाई राखिएको थियो। समितिले यता अनुसन्धान गर्दैगर्दा परिसरको टोलीले छुट्टै अनुसन्धान गरिरहेको थियो। 

सीसीटीभीको फुटेज काठमाडौं परिसरले लगिसकेको थियो। शनिबार दिनभर सीसीटीभीको आधारमा अनुसन्धान गरिरहेको काठमाडौं परिसरको टोलीले पेप्सीकोलासम्म हत्याका आरोपितलाई पछ्याइसकेको थियो। 

तर त्यसपछि भने कुकुरले गरेको ट्र्याक जस्तै भयो। कुकुर पनि काँडाघारीसम्म पुगेर अलमलिएको थियो। शंकास्पद व्यक्ति सीसीटीभीमा पनि त्यहाँसम्म देखिएपछि गायब भए। टोलसम्म पुगेको प्रहरी त्यसपछि ती हत्या आरोपी कुन घरमा पसे भन्ने अलमलमा पर्यो। 

परिसरको सिभिल टोली त्यो क्षेत्रमा शनिबार दिउँसोदेखि नै व्यापक परिचालन गरिएको थियो। उनीहरुसँग सीसीटीभीमा देखिएका आशंकित व्यक्तिको हुलिया थियो। 

शुक्रबार राति तीनकुनेमा चार जनाको हत्या गरेर हिँडेका सञ्जय भने दिदी भिनाजु बस्ने पहिलेको डेरामा मध्यराति पुगे। पछिल्लो समय उनीहरु त्यो डेराबाट नजिकै अर्को घरमा सरेका थिए। 

त्यो डेरामा बस्ने आफन्तले सञ्जय पुगेको खबर गरिदिए। अनि भिनाजु आएर सञ्जयलाई लिएर डेरा गए। दिदी भिनाजुले उनलाई कहाँ गएको थिस् यति रातिसम्म भनेर सोधे। सञ्जयले साथीकोमा गएको जवाफ दिए। 

त्यसरात उनी दिदीभिनाजुकै कोठामा सुते। सञ्जय भोलिपल्ट नक्साल पढ्न गए।
 
बेलुकी दिदीकैमा फर्किए। तर उनको मनमा भने घटनाकै कुरा खेलिरहेको थियो। दिदीभिनाजुले पटक पटक कहाँ गएको थिस् भनेर सोधेपछि उनलाई दिदीभिनाजुले पनि थाहा पाएजस्तो लाग्यो। 

अरुले पनि थाहा पाए र अब प्रहरीले पक्राउ गर्ला भनेर उनी आइतबार सिन्धुपाल्चोक घर जाने तयारीमा लागे। 

उनी हत्यामा प्रयोग गरेको खुकुरी झोलामा हालेर त्यही झोला र तिनै कपडा लगाएर दिदीको कोठाबाट घर जान भनेर निस्किए। तर प्रहरीले उनलाई त्यही बेला पक्राउ गर्यो। 

यता संयुक्त अनुसन्धान टोली दीपेन्द्रमाथि सोधपुछमा केन्द्रित हुँदा परिसरको टोली भने उनले हत्या नगरेकोमा विश्वस्त थियो। कुकुरले गरेको संकेत र सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले सञ्जयलाई पक्राउ गरेको हो। 

उनले पक्राउ पर्नासाथ आफूले हत्या गरेको स्वीकार गरेका थिए। उनले लेखेर आफूले चार जनाको हत्या गरेको त्यसैदिन स्वीकार गरेका थिए। 

प्रहरीले उनलाई आइतबार साँझ सार्वजनिक गरेको थियो। सोमबार सञ्जयलाई घटनास्थल लगेर प्रहरीले के कसरी घटना घटाएको भनेर सोधपुछ गरेको छ। उनले आफू भित्र प्रवेश गरेको स्थान र निस्किएको स्थानबारे प्रहरीलाई त्यहाँ पुगेर देखाएका छन्। 

तर उनलाई चाबहिलमा ठक्कर दिने मोटरसाइकल चालक को थिए भन्ने प्रष्ट भएको छैन। सञ्जयले ती व्यक्ति नवीन नै भएको बताएका छन्। पटकपटक उनैले आफूलाई थप्पड हानेको लागेर नै उनको हत्या गरेको बयानमा उल्लेख गरेका छन्। 

प्रहरीले अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .