ad ad

समाज


६० किलो सुन प्रकरणको अनुसन्धान गर्न हङकङ पुगेका एसएसपीको प्रतिवेदनमा के छ?

६० किलो सुन प्रकरणको अनुसन्धान गर्न हङकङ पुगेका एसएसपीको प्रतिवेदनमा के छ?

उजिर कार्की
असोज ४, २०८० बिहिबार २१:२९, काठमाडौँ

हङकङबाट तस्करी गरेर भित्र्याएको ६० किलोभन्दा बढी सुन प्रकरणमा २६ जना प्रतिवादीको जिल्ला अदालत काठमाडौंमा बयान चलिरहेको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ। सोमबारदेखि अदालतमा बयान जारी छ। 

सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको चौथो दिनमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेको थियो।

सीआईबीले प्रतिवादी नबनाउन सिफारिस गरेको भन्सार एजेन्ट रुक्मिना सुब्बालाई पनि प्रतिवादी बनाइएको छ। तर फरार रहेका चिनियाँ नागरिक लोरुङ गोम्बोलाई भने प्रतिवादी नबनाई मुद्दा दर्ता भएको छ। 

साउन २ गते हङकङबाट क्याथे प्यासिफिकको जहाजबाट एयर कार्गो मार्फत सुनको अवैध पैठारी भएको थियो। विमानस्थल भन्सारका कर्मचारी समेतको सेटिङमा भएको पैठारीमा मुख्य गरी चिनियाँ गिरोहको संलग्नता देखिएको छ। 

भन्सारका कर्मचारी र केही नेपाली बिचौलिया तथा व्यापारीको पनि संलग्नता देखिएको छ। सुरुमा राजस्व अनुसन्धान विभागले बरामद गरेको यो सुन प्रकरणमा अन्तरदेशीय तस्कर सञ्जालको संलग्नता देखिएपछि सरकारले अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिने निर्णय गरेको थियो। सुन बरामद भएको २० दिनपछि अनुसन्धान थालेको सीआईबीले हङकङमा समेत पुगेर अनुसन्धान गरेको थियो। 

सीआईबीका एसएसपी दिनेशकुमार आचार्य अनुसन्धानको क्रममा हङकङ पुगेका थिए। हङकङ पुगेर फर्किएपछि उनले तस्करीमा त्यहाँ भएका गतिविधिबारे प्रतिवेदन पेस गरेका छन्। उक्त प्रतिवेदन पनि अभियोग पत्रसाथ अदालतमा पेस गरिएको छ। 

के छ हङकङ पुगेका एसएसपीको प्रतिवेदनमा? 
एसएसपी आचार्यले हङकङबाट काठमाडौँसम्म सुनको अवैध पैठारी गर्ने क्रममा सामान पठाउन प्रयोग गरिएका स्थानहरुको स्थलगत भ्रमण गरेका थिए। प्रतिवेदनमा उल्लेख गरे अनुसार उनले नेपालमा सामान पठाउने कार्गो कम्पनीका जिम्मेवार कर्मचारीसँग छलफल गरेका थिए। यस्तै घटनामा संलग्नता आशंका गरिएका नेपाली नागरिक रोशन लिम्बुसँग पनि सोधपुछ गरेको र त्यहाँबाट केही तथ्य खुलेको एसएसपीको प्रतिवेदनमा उल्लेख छ। 

पहिलो पटक सन् २०२२ जुलाई ३० मा रोशन लिम्बुले क्यारी अन ग्लोबल लजिस्टिकमार्फत ६६ किलो मोटरसाइकल पार्ट्स भनी रुबिना टे«डर्स भोटाहिटीले पाउने गरी सामान पठाएको खुलेको छ। सामान पठाउनका लागि उनले विच्याट ग्रुप बनाएको र उक्त ग्रुपमा रोशन लिम्बुसहित क्यारी अन ग्लोबल कम्पनीका ३ जना सदस्य रहेको खुलेको छ। तर रोशनमार्फत उक्त सामान एक पटक मात्रै पठाएको प्रतिवेदनमा उल्लेख छ। 

उक्त सामान नेपाल पठाएको साढे ३ महिनापछि एक जना मिस ली भन्ने महिलाले आफूलाई नेपालीले नम्बर दिएको बताउँदै सम्पर्क गरिन्। लीले अटो पार्ट्स नेपाल पठाउनु छ भनेकी थिइन्। 

सामान पठाउँदा सामान पठाउने र पाउने व्यक्तिको नाम उनले नै उल्लेख गर्ने गरेकी थिइन्। ठेगाना चीनको भए पनि सबै सामान हङकङका विभिन्न स्थानबाट उठाउने गरिएको थियो। 

२०२२ को अन्तिमतिर याउ मा तेइ क्यान्टन रोड ६१८–६३२ डिस्कसन बिल्डिङ १/एफ रुम सीबाट अटो पाटर््स एन्ड इलेक्ट्रोनिक्स वाच पठाउने गरेको प्रतिवेदनमा उल्लेख छ। पार्केस स्ट्रिट नम्बर १–११ पार्केस म्यानसनबाट अधिकांश समय अटो पाटर््स पठाउने गरेको र गोल्डेन बियर औद्योगिक केन्द्रबाट अधिकांश समय र्‍यापिङ मेसिन पठाउने गरेको खुलेको एसएसपीको प्रतिवेदनमा छ। 

यी केन्द्रबाट सामान उठाउनका लागि क्यारी अन ग्लोबल कम्पनीले सबकन्ट्रयाक्टर  वेल किङ ट्रान्सपोर्टेसन कम्पनीलाई जिम्मा दिएको थियो। समान उठाइसकेपछि ट्रान्सपोर्टेसन कम्पनीले सामान सिधै विमानस्थल पुर्‍याउने गरेको थियो। 

मिस लीको विच्याट ग्रुपमा मिस्टर लिन र क्यारी अन ग्लोबलका ४ जना सदस्य रहेको पाइएको छ। क्यारी अन ग्लोबल कम्पनीले पाउनु पर्ने सम्पूर्ण रकम नगद नै बैंकमा जम्मा गरिदिने गरेको प्रहरीको प्रतिवेदन छ। 

यस्तै नेपाल प्रहरीले इन्टरपोल शाखा मार्फत पनि त्यहाँको गिरोहबारे अनुसन्धानमा सहयोग मागेको छ। इन्टरपोल हङकङ चाइनाले भन्सार तथा अन्तःशुल्क विभागबाट जवाफ प्राप्त भएपछि थप विवरण पठाइदिने भन्दै नेपाल प्रहरीलाई ईमेल गरेको छ। 

यी हुन् २९ प्रतिवादी
झण्डै ६१ किलो सुन प्रकरणमा ९ विदेशीसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको छ। विदेशी नागरिकमा एक तिब्बती मूलका भारतीय र बाँकी चिनियाँ छन्। तर हङकङबाट सुन पठाउने र नेपालमा पैठारी गर्ने समूहका केही भने फरार छन्। 

सीआईबीले पक्राउ गरेका चिनियाँ नागरिकहरु याओ पुचेङ, ली वेन सुङ, ली नेङकाइ, दिङ सेङ फा, लिन छ्याङ, याङ वेन, दावा छिरिङ, मि टियन, भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका छन्।  

यस्तै भन्सार एजेन्ट हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, दिलीप भुजेल, रामकुमार भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ, रुक्मिना सुब्बालाई पनि प्रतिवादी बनाइएको छ। उनीहरु सबै पक्राउ परेका छन्। यस्तै फरार रहेका भोला साह सोनार, जीवन चलाउने र अमला रोकालाई पनि प्रतिवादी बनाइएको छ। 

उनीहरुविरुद्ध अवैध सुन भन्सार चोरी पैठारी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ। दावा, ली नेङकाइ, याओ पुचेङ र शिवकुमारलाई नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय माग गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .