वीरेन्द्रनगरका आधिकारिक ग्यास विक्रेता र डिलरहरुमा ग्यास किन्नेहरुको भीड लाग्न थालेको छ। पश्चिम एशियाली देशहरूमा चर्किएको युद्धका कारण इन्धन आपूर्तिमा असर पर्न सक्ने आशंकाले उपभोक्तामा त्रास बढेको हो।
अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धले विश्व इन्धन बजारमा दबाब बढाएको छ। तर, नेपालमा तत्काल इन्धन आपूर्तिमा भने समस्या नदेखिएको सम्बन्धित निकायले बताएका छन्।
वीरेन्द्रनगरमा भने ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्याँस सिलिण्डर भण्डारण गर्न थालेका छन्। वीरेन्द्रनगरमा दैनिक करिब १ हजार २ सय सिलिण्डर ग्याँस खपत हुने गरेको सरकारी तथ्यांक छ।
भेरी ग्यासका सुर्खेतस्थित विक्रेता विनोद दाहालले बजारमा ग्यासको अभाव नभएको बताए। ‘मेरो पसलमा बिहीबारदेखि नै आजसम्म उपभोक्ताहरू ग्यास लिन उपस्थिति भइराख्नुभएको छ’, उनले भने, ‘सामाजिक सञ्जाल र बजारमा फैलिएको हल्लाका कारण एकैपटक धेरै उपभोक्ता ग्याँस लिन आउँदा भीड बढेको हो।’
उनले केही उपभोक्ता एकै जनाले दुई वा त्योभन्दा बढी खाली सिलिन्डर भर्न ल्याउने गरेको बताए। ‘पहिले दैनिक सीमित संख्यामा बिक्री हुने सिलिण्डर अहिले केही घण्टामै सकिने गरेका छन्।’ उनले भने।
अभावको छैन : आयल निगम

नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपक घिमिरेले बजारमा ग्याँस अभाव नभएको बताए। उनले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको इन्डियन आयल कर्पोरेशनले नियमित रूपमा इन्धन आपूर्ति गरिरहेको बताए। ‘कर्णाली प्रदेशमा मनकामना, राप्ती, भेरी, रेडियन्ट र नेपाल ग्याँस कर्णालीले नियमित रूपमा खाना पकाउने ग्याँस आपूर्ति गर्दै आएका छन्’, उनले भने, ‘तीमध्ये भेरी ग्याँसका उपभोक्ता संख्या अन्य कम्पनीको तुलनामा बढी रहेको छ।’
उनका अनुसार इन्धन अभावको हल्लाका कारण सम्पन्न व्यक्ति तथा व्यवसायिक घराना (होटल) ले एकभन्दा बढी सिलिण्डर खरिद गरेर राखेपछि विपन्न वर्ग र विद्यार्थी समस्यामा परेका छन्। ‘इरान युद्धका कारण इन्धन आपूर्तिमा समस्या आउन सक्ने अनुमान गर्दै केहीले धेरै सिलिण्डर किनेर राखेका छन्। त्यसको मार विपन्न र विद्यार्थीमा परेको छ।’ प्रमुख घिमिरेले भने।
वीरेन्द्रनगरमा आजदेखि आधा सिलिण्डर ग्याँस वितरण सुरु गरिने भएकाले समस्या क्रमशः समाधान हुने उनले बताए। ग्याँसको अभाव भए विद्यूतीय चुल्हो प्रयोग गर्न उनको सुझाव छ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले पनि इन्धन आयात नियमित रूपमा भइरहेकाले अभाव नभएको बताए। ‘इन्धन अभावको हल्लाका कारण ग्राहकले धेरै ग्याँस भण्डारण गर्न खोजेकाले बजारमा अभाव जस्तो देखिएको हुनसक्छ’, उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था छैन्। भारतमा आयात सन्तुलन बिग्रिए मात्रै समस्या आउन सक्छ।’
ग्यास होल्ड र कृत्रिम अभाव सिर्जना नगर्न आग्रह
बजारमा ग्याँस तथा इन्धनको अभावबारे गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्ड नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयकासुर्खेतले सूचना जारी गर्दै बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) तथा इन्धन सहज रूपमा उपलब्ध गराउन सहयोग गर्न सबै उपभोक्ता तथा व्यवसायीलाई अनुरोध गरेको हो।
कार्यालयका अनुसार जिल्लाका विभिन्न उपभोक्ताबाट बजारमा ग्याँस र इन्धन सहज रूपमा प्राप्त गर्न कठिनाइ भएको गुनासो आएको छ। त्यसलाई मध्यनजर गर्दै कसैले पनि अनावश्यक रूपमा ग्यास सिलिन्डर थुपारेर नराख्न तथा आपूर्ति व्यवस्थालाई प्रभावित नपार्न आग्रह गरिएको छ।
सूचनामा अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, बढी मूल्य लिएर ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेको वा नयाँ सिलिन्डरको अवैध बजारीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ। गत फागुन २९ गते जारी सन्देशमा जिल्ला प्रशासन कार्यालयले ग्यास तथा इन्धन आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न पनि आग्रह गरेको छ।
Shares

प्रतिक्रिया