ad ad

समाज


जेठो हिमाल अन्नपूर्ण सफाइ गर्न निस्क्यो सेनाको टोली

१० टन फोहर संकलनको लक्ष्य
जेठो हिमाल अन्नपूर्ण सफाइ गर्न निस्क्यो सेनाको टोली

हिमाल सफाइमा निस्किन लागेको सेनाको टोलीलाई बिदाइ गरिँदै। तस्बिर : नेपालखबर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १८:५३, पोखरा

नेपाली सेनाको एक टोली अन्नपूर्ण हिमाल सरसफाइमा निस्केको छ। 

नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी दीपककुमार बानियाँका अनुसार नेपाली सेनाको ‘स्वच्छ हिमाल अभियान’अन्तर्गत सेना हिमाल सफाइमा लागेको हो। 

उनका अनुसार यो पटक सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोरहरू संकलनको लक्ष्य लिइएको छ। 

अन्नपूर्णबाट १० टन फोहर निकालिने उनले बताए। सरसफाइ अभियानको नेतृत्व नेपाली सेनाका क्याप्टेन भीमबहादुर भुजेलले गरेका छन्।

अभियानलाई पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकाले सघाएका छन्। 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिहीबार सरसफाइ अभियानका मुखिया भुजेललाई महानगरको लोगोअंकित झण्डा हस्तान्तरण पनि गरे। 

उनले सेनाको प्रोत्साहनको लागि १५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे। 

अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सवैभन्दा पहिला मानवले पाइला टेकेको हिमाल हो। 

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण (पहिलो) को सन् १९५० को जुन ३ अर्थात् २००७ साल जेठ २१ गते फ्रान्सेली नागरिक मौरिस हर्जोक र लुइस ल्याचनलले सफल आरोहण गरेका थिए। 

संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा १० औं नम्बरमा पर्ने अन्नपूर्ण आरोहणको लागि कठीन हिमाल मानिन्छ। यो हिमालमा सफलताभन्दा असफलता हात पार्ने आरोहीहरुको संख्या बढी छ। 

सन् २०१९ सम्म ३०९ जनाले मात्र यो हिमालको सफल आरोहण गरेका थिए। कोभिड १९ का कारण सन् २०२० मा आरोहण गतिविधि भएनन्। 

सन् २०२१ मा भने ६ जना नेपाली महिला आरोहीले यो हिमालको सफल आरोहण गरे। सो वर्ष अन्नपूर्णको सफल आरोहण गर्नेको संख्या ६८ थियो। 

हिमाल आरोहण सजिलो हुँदैन। आरोहीहरु महिनौंको तयारी र त्यति नै सातुसामल लिएर हिमालतिर लाग्छन्। 

अक्सिजन सिलिण्डर, खानासहितको सरसामान लिएर आरोहणमा निस्कनेहरुले आरोहण सफल वा असफल जे भए पनि प्रयोगमा आइसकेका सामानहरु हिमालतिरै फ्याँक्छन्। 

जसका कारण हिमाल प्रदूषित भएको छ। हिमाली क्षेत्र प्रदुषित भएको समाचार अन्तर्राष्ट्रिय संचारमाध्यममा आउन थालेपछि सरकारले नै सफाइप्रति चासो दिएको थियो। विगत ४ वर्षदेखि यो अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ। 

अघिल्लो वर्ष नेपाली सेनाले  चैत २२ गतेदेखि जेठ ५ गतेसम्म सरसफाइ अभियान संचालन गरेको थियो। 

त्यो उपक्रममा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट ३० हजार ३४४ किलोग्राम फोहर संकलन गरिएको नेपाली सेनाका सेनानी समीर बस्नेतले जानकारी दिए। 

हाल पश्चिम पृतना पोखरामा रहेका समीर यो पटक बरुन्चे हिमाल सरसफाइ अभियानमा खटिँदै छन्। 

बरुन्चे ७ हजार १२९ मिटर अग्लो छ। उनको टोलीले त्यहाँबाट १० टन फोहर संकलन गर्ने लक्ष्य लिएको छ। 

दुईपटक हिमाल सफाइ अभियानमा सहभागिता जनाएका समीरका अनुसार हिमाली क्षेत्रमा कति फोहर थुप्रिएको छ भन्ने यकिन गर्न कठिन छ। 

‘आरोहण सुरु भएदेखिकै फोहर थुप्रिएको छ, हिउँ पग्लँदा फोहर देखिन्छ,’उनले भने,‘हामीले यो पटक बरुन्चेको चुचुरोसम्मको फोहर संकलन गर्ने लक्ष्य राखेका छौँ।’

यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन २०२२ मा मनास्लु हिमालको सफाइ गरिसकेको छ। 

नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीका अनुसार सफाइ अभियानमा सेनाले शेर्पाहरुको सहयोग लिनेछ। सेनानी किशोरले यो पटक लोत्से सरसफाइ अभियानको नेतृत्वग गर्दैछन्। 

अन्नपूर्ण आरोहण गर्नेहरू संख्या वृद्धि हुँदा यो क्षेत्रमा फोहर थुप्रिएको र शेर्पाहरूको सुझावका आधारमा १० जनाको टोलीले अन्नपूर्ण क्षेत्रको सरसफाइ गर्ने उनको भनाइ छ। 

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक तथा  नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका संघ-संस्थाहरूले प्राविधिक सहयोग रहेको छ। 

५५ दिने अभियान विश्व वातावरण दिवस अर्थात् जुन ५ का दिन समापन हुने सेनानी समीर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .