समाज


वैशाख १२: बारपाकवासीले बिर्सन नसकेको भूकम्प

वैशाख १२: बारपाकवासीले बिर्सन नसकेको भूकम्प

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १३:१२, गाेरखा

गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ।

बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ। गहभरि आँसु पारेर धनमाया भन्छिन्, ‘न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ। त्यही दिन भूकम्प आउनुपरेको। आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो। भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ।’ 

धनमाया जस्तै भूकम्पमा आफ्न्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ। धेरैले परिवारका सदस्य गुमाउनुपर्‍यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ। ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन्। ‘आकास गर्जदा अझैँ पनि डर लाग्छ। गाउँमा ठूल्ठूलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ। मुटु नै चिसो बनाउँछ’, उनी भन्छिन्। 

“भूकम्पले बारपाकीहरुको मानसिकतामा ठूलो धक्का पुगेको छ। वैशाख १२ पछि गएका पटकपटकका परकम्प र पछिल्लो समय देशका विभिन्न ठाउँमा गएका भूकम्पका कारण ७७ वर्षीया प्याली घलेलाई फेरि पनि पहिलेकै जस्तो ठूलै भूकम्पले आउने हो कि भन्ने पिरले सधैँजसो सताउँछ। ठूलो जनधनको क्षति गर्नेगरी वैशाख १२ गते भूकम्प गएको १० वर्ष बितिसकेछ”, घलेले भनिन्।

स्थानीय अर्की ५५ वर्षीय कमला गुरुङले २०७२ वैशाख १२ गते सम्झँदै भन्छिन्–‘हामी त बारीमा काम गर्दै थियौँ। एक्कासी जमिन हल्लियो, एकाएक घरहरु भत्किन थाले। गाउँ पूरै धुलोको मुस्लोले ढाकियो।’ भूकम्पका कारण आफूहरुको मानसिकतामा ठूलो चोट पुगेको गुरुङ बताउछिन्। ‘अहिले त नयाँ घर पनि बनाइसके’, उनले भनिन्, ‘तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन।’

वैशाख १२ को भूकम्पले गोरखालगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पुर्याएको थियो। २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाले मृत्यु भएको थियो भने झण्डै एक हजार ५०० निजी घरमा क्षति पुगेको थियो। 

भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास पनि भएको छ। भूकम्पले बारपाकको स्वरुप नै परिवर्तन गरेको अर्का स्थानीय जीतबहादुर घले बताउछन्।

‘भूकम्पले विनाश त गर्‍यो तर धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ’, उनले भनिन्, ‘बारपाक भूकम्पको केन्द्रबिन्दु भएकै कारण यहाँ सबैको नजर पर्यो। हामीले विकास आयोजना माग्ने आधार पनि पायौँ।’ भूकम्पछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरु तीव्र रुपमा विकास भएको उनको भनाइ छ। 

एक दशकको अवधिमा बारपाकमा निजी आवास पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको स्मरणमा भूकम्प गएको मिति र समयसमेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ। पुनःनिर्माण गर्दा विगतमा परम्परागत ढुङ्गाको छानो र माटोले बनेको घरको मौलिकताको सट्टा इँटा र सिमेन्टबाट आधुनिक पक्की घरहरु बनेको छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad