समाज


रोशन मृत्यु प्रकरण : मंगलबार सोही स्थानमा भएको थियो झडप

रोशन मृत्यु प्रकरण : मंगलबार सोही स्थानमा भएको थियो झडप

रोशनको शव भेटिएको ठाउँ


दिनेश बुढा
भदौ १५, २०७९ बुधबार २१:४, सुर्खेत

भदौ १४ गते। हरितालिका तीजको दिन। वीरेन्द्रनगर नगरपालिका–१० पठान टोल अर्थात् बामेखोलाका महिलाहरु तीज गीतमा नाचेर रमाइरहेका थिए। मंगलबार दिउँसो करिब २ बजे पठान टोलकै एक घरमा परिवारका सदस्यहरू चर्को स्वरमा गीत बजाएर मजा लिइरहेका थिए।

त्यो घरनजिकैबाट जान्छ, वीरेन्द्रनगर नगरपालिकाको चक्रपथ। त्यहीँनेर सडकमा उक्त टोलका युवाहरु पनि तीजको गीतमा नाचिरहेका थिए। मदिराले मात्तिएका उनीहरुबीच दिउँसो ३ बजेतिर धकेलाधकेल सुरु भयो। त्यहाँ झगडा गर्नेमा नातेदार पर्ने २८ वर्षीय प्रकाश नेपाली र १८ वर्षीय कुमार परियार पनि थिए। 

स्थानीय एक महिलाका अनुसार उनीहरूलाई स्थानीयले छुट्याएका थिए। 

‘हामीहरू सबै मिलेर कुमार र प्रकाशलाई अलग गरेर आ–आफ्नो घरतर्फ पठाइदियौँ,’ ती महिलाले भनिन्।

प्रकाश र कुमारको घर एउटै टोलमा पर्छ। स्थानीयले उनीहरुलाई आ–आफ्नो घर पठाए पनि प्रकाशले कुमारलाई केही परसम्म लखटे। त्यसपछि प्रकाशलाई उनकी श्रीमतीले घर लिएर गइन्। त्यो ठाउँ सुनसान बन्यो।

साँझ पर्दै थियो। पुनः त्यही ठाउँमा अर्को झडप भयो। करिब साढे ६ बजे सुन्दर टोलका रोशन जिसीको मृत्यु भयो। तर, त्यहाँका गाउँलले त्यो घटना थाहै पाएनन्। स्थानीयले सडकमा रोशन पल्टिएको मात्रै देखे। उनीहरुले खासै चासो लिएनन्।

उक्त टोलकी अर्की एक महिलाले नेपालखबरसँग भनिन्, ‘रोशनले पहिला पनि मदिरा सेवन गर्थे। त्यही भएर पल्टेको होला भन्यौँ। तर, त्यसको आधा घण्टापछि एकाएका समाजिक सञ्जालमा रोशनको मृत्युको फोटो आएपछि मात्रै थाहा पायौँ।’

स्थानीय एक युवकका अनुसार प्रकाशसँग पहिला झगडा गरेका कुमारसँगै रोशन जिसीलगायतका युवाहरु त्यहाँ पुगेका थिए। 

‘कुमारसँगै रोशन जिसी र अन्य केटाहरु आएको देखेका थियौँ। तर, उनीहरु किन आए भन्ने थाहा भएन। हामी आफ्नो काममा गयौँ। केही समयपछि फर्केर आउँदा रोडमा रोशन पल्टिएको देख्यौँ। रोशनलाई पछि कुमार लगायतका अन्य युवाहरुले तानेर रोडमा पु¥याए,’ उनले भने।

ती युवकका अनुसार रोशन सडकको खाल्डोमा थिए। त्यहाँबाट उठाएर अग्लो ठाउँमा राखियो। र, अटोमा हालेर अस्पताल लगियो। प्रदेश अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरे। १२ कक्षासम्म पढेका रोशनले पाँच वर्षअघि विवाह गरेका थिए। उनकी एक छोरी पनि छिन्।

पठान टोल

पाँच जनाविरुद्ध किटानी जाहेरी 
छोराको मृत्युपछि रोशनका बुबा ६५ वर्षीय गणेशबहादुर जिसीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका छन्। गणेशले जिसीले वीरेन्द्रनगर–१० पठान टोल बस्ने १८ वर्षीय कुमार परियार, २५ वर्षीय ओमप्रकाश सुनार, सनोसुर्खेतका २५ वर्षीय मीनु नेपाली, २३ वर्षीय न्युटन शाही र २८ वर्षीय गणेश नेपालीविरुद्ध किटानी जाहेरी दिएका छन्।

जाहेरीअनुसार आफ्नो छोरा घरमा बसिरहेको समयमा मीनु नेपाली लगायतले रोशनलाई मार्ने योजना बनाएर घरबाट बोलाएर पठान टोलतर्फ लगेको बताइएको छ।

ओमप्रकाश सुनार, न्युटन शाही, कुमार परियार, मीनु नेपाली र गणेश नोपालीसमेतको टोलीले लाठी, ढुङ्गा, लात्ती र मुक्काले हानेर टाउकोमा गम्भीर चोट र शरीरका विभिन्न अंगमा कुटपिट गरेर घाँटी बटारी मर्यो भनेर चन्द्रबहादुर सुनारको घर नजिक बाटोमा फालेको जाहेरीमा उल्लेख गरिएको छ।

अनुसन्धान जारी छ प्रहरी
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाका विषयमा अनुसन्धान जारी राखेको जनाएको छ। जिल्लाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जाहेरीमा नाम किटान गरिएका पाँचै जनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए।

प्रहरीका अनुसार बमेखोलाको जंगलका विभिन्न ठाउँबाट बुधबार बिहान पक्राउ गरिएको हो। हाल रोशनको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको प्रहरीले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad