नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम पदार्थ उत्खनन गर्नुपर्ने बताएका छन्।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख पुगेका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थ उत्खनन गर्नुपर्नेमा जोड दिएका हुन्।
सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका १ स्थित पेट्रोलियम पदार्थ अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफू प्रधानमन्त्री हुँदा नै सुरु भएको उल्लेख गर्दै यो कामलाई थप अघि बढाउनु पर्नेमा जोड दिए।
‘दैलेख पुरातात्वीक महत्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो संभावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले भने, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउँनुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं।’
अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ गरेपछि अध्यक्ष ओलीले देशलाई समृद्धीको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खनन्ले ठूलो भूमिका खेल्ने बताए।
दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिँदै खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिनकुमार नापीतले चीनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो संभावना भएको निचोड निकालेको बताए।
नापितका अनुसार उत्खनन् गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको छ। उत्खनन् टोलीको प्रतिवेदन अनुसार उत्खनन् गर्दा दोस्रो तहमो ग्याँसका रेखाहरु देखिएको छ।
‘चीनियाँ कम्पनीले गरेको शेष्मिक सर्भेले ३५ सय देखि ४ हजार मिटरसमको उत्खनन गर्दा पेट्रोलियम पदार्थको राम्रो संभावना देखियो’ नापितले भने, ‘हामीले ४५ सय मिटरसम्मको उत्खनन गर्दा ग्याँस र पेट्रोलियम पदार्थको संभावना यहाँ निकै राम्रो देखिन्छ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुसँगै उत्खनन् स्थलमा पुगेका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितले अध्ययन प्रतिवेदन हस्तारण गरेका छन्।
देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खनन् अन्तिम अन्वेषणको कामका लागि एमाले अध्यक्ष ओलीको पालामा उत्खनन् स्थलमा आवश्यक पर्ने ४५ रोपनी अधिग्रहण गर्ने काम र अन्वेषणको काम सुरु भएको थियो।
दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्याँसको भण्डारण रहेको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो।
नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न भइसकेको छ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको पाँचौ दिन आज दैलेख पुगेको छ।
अध्यक्ष ओलीले बिहीबार बिहान दशकौँदेखि प्राकृष्तिक ज्वाला बलिरहेको दैलेखको शिरिस्थना मन्दिरको अवलोकन गरेका छन्।
Shares
प्रतिक्रिया