समाज


ज्यान गुमाउनुअघि आमालाई सुरेन्द्रको फोन- म अन्तिम अवस्थामा छु, योसँग १० लाख रुपैयाँ छ, लैजानू

पैसा लिने महिला प्रहरी अनुसन्धानमा, अविवाहित हुँ भनेर ढाँटेकी थिइन्
ज्यान गुमाउनुअघि आमालाई सुरेन्द्रको फोन- म अन्तिम अवस्थामा छु, योसँग १० लाख रुपैयाँ छ, लैजानू

दिनेश बुढा
साउन १३, २०८२ मंगलबार ११:३, सुर्खेत

दैलेखको छामघाटमा मृत भेटिएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या भएको दाबी आफन्तले गरेका छन्। 

साउन ११ गते बिहान दैलेखको दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोला किनारमा सुरेन्द्रको शव फेला परेको थियो।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ घर भएका २८ वर्षीय सुरेन्द्र ३३ महिना मलेसिया बसेर गएको असार ३२ गते नेपाल फर्किएका थिए। 

सुरेन्द्र २०७९ असोज ३० गते मलेसिया गए। त्यहाँ ३३ महिना उनले मजदुरी गरे। 

उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी थिए। आमाबुवा पनि सँगै थिए। तर, एक वर्षअघि मात्रै सुरेन्द्रकी श्रीमती डल्ली शाहीले गाउँकै अर्को पुरुषसँग विवाह गरेर घर छाडिन्। 

ससाना छोराछोरी छाडेर श्रीमतीले अर्कैसँग विवाह गरेपछि सुरेन्द्र समस्यामा परे। श्रीमती, छोराछोरी र आमाबुवाको पालनपोषणको लागि मलेसिया पुगेका सुरेन्द्रलाई पत्नीले छाडेपछि वज्रपात भयो। तर, पनि उनले हरेश खाएनन्। 

उनले सुर्खेतको वीरेन्द्रनगरमा बस्ने बहिनीसँगै ४ वर्षको छोरा र ८ वर्षकी छोरीलाई राखेर विद्यालय भर्ना गराए। अर्की सानी छोरीलाई भने दैलेख घरमै आमाबुवासँग राखे। 

श्रीमतीले छोडेर गएपछि तनावमा रहेका सुरेन्द्रको दैलेख घर भएकी अर्की युवतीसँग कुरा हुन थाल्यो। ती युवतीलाई मलेसियाबाट सुरेन्द्रले पैसा पनि पठाउन थाले।

सुरेन्द्रका दाइ नाता पर्ने दीपक शाहीका अनुसार पहिलाकी श्रीमतीले छोडेर गएपछि उनले ती युवतीसँग विवाह गर्ने सोचसहित कुराकानी अघि बढाएका थिए। उनले ती युवतीलाई पैसा पनि पठाउने गरेका थिए। सुरुमा उक्त कुरा घरपरिवार कसैलाई थाहा नभएको दाइ दीपक बताउँछन्। 

सुरेन्द्र असार ३२ गते मेलेसियाबाट नेपाल आए। काठमाडाैँ आउनासाथ साउन १ गते सुर्खेत पुगे। बहिनीसँगै पढ्न बसेका छोराछोरीलाई भेटे। त्यहाँ उनी ९ दिन बसे।

त्यसपछि उनी यही साउन १० गते दैलेखतर्फ लागेको दीपकको भनाइ छ। उनले भने, ‘१० गते बिहान सुर्खेतबाट दैलेख हिँडेको रहेछ। दुल्लुबाट आउनुपर्नेमा दैलेख बजार भएर घर आउँदै थियो।’

उनले बाटोबाटै घरमा आमाबुवालाई फोन गरेर आफूले एउटा केटीलाई भेटेर आउन लागेकाे भनेर खबर गरेको दीपक बताउँछन्। तर, दुर्भाग्य, सुरेन्द्र घरमा पुग्नै पाएनन्।

दाइ दीपकका अनुसार घरपरिवारसँग सम्पर्क गरेर नै सुरेन्द्र सुर्खेतबाट दैलेख गएका थिए।

‘सुरेन्द्रले घरमा फोन गरेर एउटी केटीले भेट्न बोलाएकी छ। म बीच बाटोमा झर्छु र उसलाई भेटेर आउँछु भनेका थिए,’ दीपकले भने, ‘तर तिनै सुरेन्द्रले आमालाई १० गते राति ९ बजेर १७ मिनेट जाँदा अन्तिमपटक फोन गरेको रहेछ। उसले फोनमा अब म घर आउँन सक्दिनँ। आज मेरो अन्तिम दिन हो। मेरा छोराछोरीलाई राम्रोसँग पालिदिनू। यतिबेला मचाहिँ खोलामा छु। म अन्तिम अवस्थामा छु। यो मान्छेसँग १० लाख रुपैयाँ छ, लैजानू भनेका रहेछन्।’

तर, उनले भनेको ‘यो मान्छे’ को हो? खुलेको छैन। 

त्यसपछि सुरेन्द्रको फोन अफ भएको दीपकको भनाइ छ। उनका अनुसार सुरेन्द्रको शव भेटिँदा कम्मरभन्दा तल कुनै कपडा थिएनन्। शरीरको माथिल्लो भागमा निलडाम र टाउको गम्भीर चोट थियो। 

दीपकले भने, ‘बिहान हामी पुग्दासम्म उसको टाउकोबाट रगत बगिरहेको थियो। घाँटीमा डोरीले कसिएको जस्तो छ। शवको प्रकृति हेर्दा हत्या गरेर खोलामा फालेजस्तो देखिन्छ। प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरोस्। अपराधी उम्किन नपाऊन्।’

फोन गर्ने युवतीले अविवाहित छु भनेर ढाँटेकी थिइन्
सुरेन्द्र मलेसिया हुँदा दैलेख घर भएकी ती युवतीले सुरेन्द्रबाट निकै पैसा लिएको हुन सक्ने आफन्तले बताएका छन्। 

‘अविवाहित छु’ भनेकी ती युवतीसँग विवाह गर्ने सहमतिमै उनले पटक-पटक गरी लाखौँ रकम पठाएका थिए। सुरेन्द्रका दाइ दीपकले भने, ‘हामीसँग एक जना युवतीलाई सुरेन्द्रले मलेसियाबाट पैसा पठाएको भौचर पनि छ।’ 

यस्तै, सुरेन्द्रका बुवा झक्क शाहीले पहिले अविवाहित भनेकी ती युवती विवाहिता भएको र साथमा एउटा छोरासमेत रहेको कुरा खुलेको जानकारी छोराले आफूहरूलाई दिएको बताए।

‘पहिलाकी बुहारीले दोस्रो बिहे गरेपछि छोराले ती केटीलाई पैसा पठाउने गरेको रहेछ। एक वर्षसम्म घरमा पैसा पनि पठाएन। पछि उसले हामीसँग पनि कुरा गरेको थियो। एउटा केटी छ, ठूलो रकम खर्च भइसकेको छ, विवाह गरौँ कि नगरौँ भनेर हामीलाई सोघ्दै थियो,’ उनले भने।

टेलिफोनबाटै छोराले आफूसँग सल्लाह मागेपछि झक्कले भनेका थिए, ‘जे गर्छाै गर, तर केटी कस्ती हो, राम्ररी बुझेर मात्रै सम्बन्ध अघि बढाउनू।’ 

पछि सुरेन्द्रले ती युवतीसँग विवाहबारे कुरा अघि बढाएका थिए। त्यतिबेला भने उनले ‘भर्खरै बज्यै बितेकाले विवाह गर्न नमिल्ने’ जवाफ दिएकी थिइन्।

त्यसपछि सुरेन्द्रले कर गरेपछि भने उनले आफू विवाहित रहेको र साथमा ६ वर्षको छोरासमेत रहेकाे जवाफ दिएको आफन्तको भनाइ छ। 

सुरेन्द्रसँग जाेडिएकी ती महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad