ad ad

समाज


सडक कालोपत्रे बनेपछि दुर्गम गाउँ सुगम बन्दै

सडक कालोपत्रे बनेपछि दुर्गम गाउँ सुगम बन्दै

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ७:३८, धनकुटा

आफ्नो विकट गाउँ दुई जिल्ला जोड्ने कालोपत्रे सडक सञ्जालले छोएपछि धनकुटाको छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन्।

धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा पुगेको छ। स्थानीय मार्से गाउँका शङ्कर ओझाले भने, ‘यस सडकले  गाउँपालिका वडा नं ५ साविक तेलिया गाविसलाई सबैभन्दा धेरै गुन लागेको छ । यो सडक हाम्रो गाउँका लागि कोशेढुङ्गा सावित भएको छ । सडक नहुँदा हाम्रो ठाउँ जिल्लाको कर्णाली भनेर चिनिन्थ्यो।’

पहिला कच्ची सडक हुँदा सवारी साधनलाई आवत जावत गर्न समस्या थियो । सो समयमा यहाँका नागरिकले भौगालिक कष्ट र पानीको अभाव झेल्न नसकेर बसाइँसराइ गर्न वाध्य थिए। 

पछिल्लो समय कालोपत्र सडक बनेपछि यहाँबाट बसाइँसराइ जान छाडेका छन्। मानिसले सब्जी तथा पशुपालन फार्म खोलेर उद्यामतिर लाग्न थालेका उनले बताए।

‘पहिला सितैमा लैजाउ भनेन्दासमेत कसैले नलाने यस क्षेत्रको फलफूलसमेत सडक सुविधाका कारण अहिले किसानले राम्रो मूल्यमा बेचिरहेका छन्।’

यस क्षेत्रका मानिस धनकुटाको सदरमुकाम धनकुटा बजारसम्म पुग्न छथरजोरपाटी–हिलेबजार हुँदै ३४ किमी घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएको ओझाले जानकारी दिए।

‘छथरजोरपाटी–३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा एक्कासी कालोपत्र सडक आउँदा आफूहरूको भारी बोकेर उकाली–ओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको छ,’ उनले भने।

साविक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी घुमेर कच्ची सडक पार  गरेर जानु
पथ्र्यो। त्यसको विकल्पमा करिब १५ देखि १८ किमी हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने बाध्यता थियो। 

तर। अहिले ती सबै समस्याबाट मुक्ति पाएको स्थानीयको भनाइ छ। ‘पहिलाजस्तो भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ,’ उनले भने। गाउँमै कालोपत्र सडक आएपछि कुनै बेला पाँच हजार रोपनीमा बिक्ने जमिनसमेत अहिले बढेर छ लाखभन्दा माथि पुगेको छ। तराईतिर बसाइँसराइ गएकासमेत फर्केर आउन थालेका उनले बताए।

साविक परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका–५ का वडाध्यक्ष डिकबहादुर लिम्बूले कालोपत्र सकडका कारण गाउँमा कृषि उत्पादनमा वृद्धि भइरहेको जानकारी दिए। 

पहिला गाउँपालिकासम्म जान कच्ची सडकमात्र भए पनि अचानक कालोपत्र सडक गाउँमा आउँदा नागरिक अत्यन्तै उत्साहित भएका छन्।

सडकको सुगमतासँगै यहाँ उत्पादित तरकारी, अलैँची तथा फलफूल सहजरूपमा बजार जाने वातावरण बनेपछि गाउँमा उत्साहित भएर किसान कृषि पेसामा लागेकाले उत्पादनमा वृद्धि भएको वडाध्यक्ष लिम्बूको भनाइ छ। 

सडक बनाउन पहल गर्न भूमिका खेलेका धनकुटा प्रदेशसभा (१)का  प्रदेशसभा सदस्य निरन राईले गाउँपालिका क्षेत्रको भौगोलिक कठिनाइ समाधान गर्न र बजारबाट बाहिर जाने ठूलो वैकल्पिक बाटोका रूपमा यस सडक आयोजना सुरु गरिएको उनले बताए।

अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन्। धरानबाट धनकुटा हुँदै भोजुर, सङ्खुवासभा र तेह्रथुम जिल्ला जाने सडकसमेत बजार बाहिरबाट गएको छ । यसका कारण अहिले धनकुटा बजारका केही बजार क्षेत्रमा व्यापारिक चहलपहल ठप्प छ।

तेह्रथुम जिल्लालाई जोड्ने यस सडक पूर्णरूपमा निर्माण भएपछि यी बजारले पुनःजीवन पाउने आश गरिएको छ। यो सडकलाई निकट भविष्यमा धनकुटा बजारको पूर्वी क्षेत्रलाई तेह्रथुम जिल्लाको दक्षिण–पूर्व शुक्रबारे बजार हुँदै जिल्लाको सदरमुकाम म्याङलुङ बजारसम्म जोड्ने लक्ष्य छ।

विसं २०७६ बाट २०८० पुस मसान्तसम्ममा काम सक्ने गरी पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाको अनुगमनमा निर्माण कम्पनी शर्मा भीमेश्वर जेभी भक्तपुरले सडकको ठेक्का पाएको थियो। 

कोशी प्रदेश सरकारको रु ५६ करोड ५२ लाख लागतमा निर्मित उक्त धनकुटाबिहीबारे हटिया–कर्मिटार–ताँखुवा–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडक निर्माणको ९५ प्रतिशत काम सकिएको जेभीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .