समाज


पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

हिमपातले सेताम्य बनेकाे तीनजुरे क्षेत्र /तस्बिर : रासस


नेपालखबर
माघ ३, २०८० बुधबार ११:२२, तेह्रथुम

लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, संखुवासभा, ताप्लेजुङको संगमस्थल  तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा हिउँ परेको छ। गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा भएको थिएन। सो क्षेत्रमा मंगलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो।

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मंगलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जंगल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजंगा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन्।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए । उनले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिए । उनका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको बताइएको छ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् । विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए।

वसन्तपुरबाट छ किलोमिटर आरआर गार्डेनको माथिल्लो द्वारसम्म पक्की र त्यहाँबाट ग्राभेल सडक रहेको छ । तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मंगलबारे, पाँचपोखरीलगायतका पर्यटकीय क्षेत्र हुन् । लामो समयपछि पानी पर्दा किसानलाई समेत राहत मिलेको लालीगुराँस नगरपालिका –१ का किसान भरतसिं गुरुङले बताए।

तीनजुरे क्षेत्रको पाँचपोखरी छेउमा गुराँसको उद्यान निर्माण गर्न लागिरहेको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन मावोहाङले बताए । पाँचपोखरी छेउमा गुराँसको पार्क बनाउन ठेक्का लागिसकेको र तीनजुरे सामुदायिक वनले गुराँसका बिरुवा रोपिरहेको उनको भनाइ छ।

नगरपालिकाको समन्वयमा विभिन्न दाताको सहयोगमा वसन्तपुरमा निर्मित चोत्लुङ उद्यानमा दैनिक चार–पाँच सय पर्यटक घुम्न आउने गरेको पनि नगरप्रमुख मावोहाङले बताए । चोत्लुङ उद्यानमा बनेका पुराना घर, ढिकी, जाँतो, कुवा र सङ्कलन गरेर राखिएका पुराना सामग्रीको सङ्ग्रहालय हेरेर पर्यटक मोहित हुने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .