समाज


कामकै लागि दसैँ बिर्सिएका पर्यटक भरिया

कामकै लागि दसैँ बिर्सिएका पर्यटक भरिया

नेपालखबर
असोज २६, २०८१ शनिबार १२:१, सोलुखुम्बु

दसैँका घमाइला दिन, जताततै रमाइलो। दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति। सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन। उनी फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन्।

उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँले भन्दा बढी जिम्मेवारीले थिचेको छ। त्यसैले होला फुलपातीका दिन सबै जना घर फर्किदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चडेका छन्।

‘हामीलाई के दसैँ, के तिहार! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको’, लामो सुस्केरा हाल्दै राईले भने,  ‘काम नगरी हुँदैन। घरमा आमा बुवा, भाइबहिनी पाल्नै र्‍यो, यतिबेला दसैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ रु अब खुम्बुमै भारी बोक्दै दसैँ मनाउने हो।’

जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन्। अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीहरूसमेत दसैँ बिदाको मौकामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन्। उनीहरूले भारी बोकेर दैनिक रु दुई हजारसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताए। 

सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुगेका छन्। अन्य समयमा कलेज जानुपर्ने भएकाले दसैँ, तिहारको बिदामा पर्यटकको भरियाका लागि खुम्बु आएको विकले बताए। उनले भने,  ‘पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु।’

दसैँ मनाउन अन्य क्षेत्रमा घर फर्कनेको लर्को लागिरहँदा खुम्बु क्षेत्रमा भने भरियाको चहलपहलले दसैँ नै बिर्साउने गरेको छ। पिठ्युँमा गह्रौ भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदिप मगरले भने, ‘हामीलाई दसैँको कुनै वास्ता छैन्। यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन। हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसैगरी यहाँ आउने गरेको छु। दसैँ नमनाएको पनि पाँच वर्ष नै भयो। विदेशीहरू यही बेला आउँछन्, विदेशी डुलाउनु पर्छ। कसरी दसैँ मनाउनु त!’

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुखुम्बुको खुम्बुक्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएको छ। त्यसैले पर्यटन व्यवसायीहरू पनि दसैँतिहार जस्ता चाडपर्वलाई छोडर ट्रेकिङमा जाने गरेका छन्। खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्क छ। त्यसैले पर्यटन व्यवसायमा लागेका युवाहरूमा चाडपर्वको सट्टा पर्यटक आवगमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगर बताउँछन्।

‘वर्षदिनमा मनाइने दसैँ जस्ता महत्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कार्यले मात्रै घरपरिवार धान्न सकिँदैन। त्यसैले साथीसँगी मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ। उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad