समाज


४४ सय मिटर उचाइमा ‘छ्यो थाङ्गी छ्यो’ पोखरी, मौसमअनुसार फेर्छ रूप

४४ सय मिटर उचाइमा ‘छ्यो थाङ्गी छ्यो’ पोखरी, मौसमअनुसार फेर्छ रूप

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १२:५३, ताप्लेजुङ

ताप्लेजुङकाे मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो।

सो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ। स्थानीयवासीका अनुसार पोखरीले मौसम अनुसार रङ्ग बदल्ने गर्दछ। कहिले आकाश जस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ। पछिल्लो समय यस क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पाले बताए।

यहाँ घुम्न आउने पर्यटक पूर्वको मुस्ताङ उपनाम दिने गरेको उनले बताए। यस क्षेत्रमा पर्यटकलाई राम्रो सेवासुविधि दिन सके धरै पर्यटक प्रकृतिक सुन्दरतामा घुम्न आउने सङ्ख्या बढ्दै गएको उनले बताए तर अहिले यहाँ आउने पर्यटकले सेवासुविधा नभए पनि घुम्न आउने क्रम बढ्दै गएको जनाइएको छ।

स्थानीयवासी वाङ्गे शेर्पा (थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषा खअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ। तर पछिल्लो समय यहाँका धेरै पोखरीको मौलिक नामभन्दा अन्य नामबाट प्रचार हुँदै गएको भन्दै यहाँका पोखरीको आफ्नै मौलिक नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरूको भनाइ छ।

यस पोखरी क्षेत्रमा घुम्न आउने पर्यटक पोखरीको अवलोकनसँगै प्रकृतिक सुन्दरताको आनन्द लिनसक्ने लोदेन क्षेत्रमा विगतदेखि जडीबुटी सङ्कलन गर्दै आएका व्यवसायी मिक्वाखोला-४ साँवा गाउँका मिलन लिम्बूले बताए। रासस

एक दिनमा सदरमुकाम फुङ्लिङबाट यातायातका साधन प्रयोग गरेर सिम्बुक पुग्न सकिन्छ। त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिंड्नेहरू एक दिन र अलि विस्तारै हिंड्ने पर्यटक दुई दिनमा लोदेन क्षेत्र पुग्न सक्छन्। पर्यटक लोदेनमा रहेका पोखरीको अवलोकन गरेर तोक्पेगोला हुँदै फर्कन चाहने लिम्बूले बताए। तर लोदेन हुँदै तोक्पेगोला जान त्यति सहज बाटो नभएको लिम्बूले बताए। पाँच हजार ५०० मिटर उचाइ अवस्थित डाँडा पास गरेर जानुपर्ने भएकाले लेक लाग्ने साथै बाटो निर्माण नभएकाले स्थानीयको सहायता चाहिने गरेको लिम्बूले बताए। उच्च हिमाली क्षेत्रमा भएकाले बाह्रै महिना हिउँ जमेर रहेकाले बाटो चिप्लो हुने जोखिम रहेको लिम्बूले बताए।

विगतमा यहाँका तस्बिर, सामन्य भिडियो सामाजिक सञ्जाल मार्फत केही प्रचारको काम भएको मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए। शेर्पाका अनुसार यस क्षेत्रमा एक सयको हाराहारीमा पोखरी छन् तर यस पोखरीको वैज्ञानिक अनुसन्धन हुन बाँकी रहेको शेर्पाले बताए।

शेर्पाका अनुसार वडाको समन्वयमा यहाँका पोखरी तथा तालको वैज्ञानिक अध्ययन गर्ने योजना छ। पोखरी तथा ताल खसम्बन्धी विज्ञहरूको टोलीमार्फत पोखरीको गहिराइ, लम्बाइ तथा चौडाइ र जिपीएस मापनजस्ता काम गर्ने योजना छ।

यस क्षेत्रमा रहेका पोखरीको संरक्षणका काम खासै केही नभएको साथै यस विषयमा गाउँपालिकाको नजर नपुगेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पा बताए। मानवले क्षति नपुर्‍याएसम्म यहाँका पोखरी आफैँमा संरक्षित रहने उनले बताए।

उपाध्यक्ष शेर्पाका अनुसार पोखरी क्षेत्रको प्रचारप्रसारका काम भइरहेको छ। पदमार्ग निर्माण तथा पर्यटकका लागि पाटीपौवा निर्माण भइरहेको छ। यस क्षेत्रमा रहेका पोखरीको प्रचारप्रसार गर्न चालु आर्थिक वर्षमा लोदेन क्षेत्रमा भिडियो सम्मेलन गर्न पालिकाले आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष शेर्पाले बताए। आवश्यक घरवास (होमस्टे) सञ्चालनका लागि पनि पहल भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad