समाज


जेनजी आन्दोलन: रक्तदान गर्न गएका गोपाल सधैँको लागि अस्ताए

छोराको बिहे गरेर घरमा बुहारी भित्र्याउने वृद्ध आमाबुवाको सपना अधुरै
जेनजी आन्दोलन: रक्तदान गर्न गएका गोपाल सधैँको लागि अस्ताए

नेपालखबर
असोज ४, २०८२ शनिबार ६:३, झापा

गत भदौ २४ गते झापाको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए। ७६ वर्षीया आमा गुनमायाले सोधिन्, ‘कता हिँड्न लागेको कान्छा?’

गोपालले जवाफ दिएका थिए, ‘त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ।’ रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिडेका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो। उनी सोही दिन विर्तामोडमा प्रहरीको गोली लागेर सहिद भए।

विर्तामोड गएपछि उनी सबैभन्दा पहिला बीएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए। उनले दर्जनौँ युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि जेनजी प्रदर्शनमा गएका थिए।

गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन्। दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् । दिदीबहिनीको विवाह भइसकेको छ। उनको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो।

उनकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सँधै झैं योग सिकाउन शिविरमा गएका थिए । त्यहाँबाट फर्केपछि उनले गोठमा गएर गाई दुहे। त्यसपछि उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल गए। आमासँगै दही चिउरा खाएर उनी विर्तामोड गएका थिए।

‘आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो’, आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाइन्, ‘अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो।’

अपराह्न ४ बजेतिर उहाँलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पु¥याइएको थियो। गोलीले छाती छेडेका कारण उनको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए।

गोपालमा अन्याय नसहने हक्की स्वाभाव थियो। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी गाउँमा कुशल योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ताको रूपमा परिचित थिए। नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाईं नियमित रक्तदाता र सामाजिक अभियन्ताको रूपमा रेडक्रससँग सँधै नजिक रहेको बताए।

‘कोही कसैलाई रगतको अभाव भएको थाहा पाउने वित्तिकै कि त आफैँ रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरू खोजेर ल्याउनुहुन्थ्यो’, ढकालले भने, ‘एउटा शिक्षित र होनहार युवा हुनुहुन्थ्यो उहाँ।’

उनी अविवाहित थिए । उनकी दिदी तुलसा सेढाईंले बिहेका लागि घरमा कुराकानी भइरहेको बताईन्। जेनजी प्रदर्शनको क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीको मृत्यु भएपछि उहाँ विक्षिप्त जस्तै हुनुभएको तुलसाले बताईन्। 

उनी भन्छिन्, ‘अन्याय र अत्याचार उसलाई सह्य थिएन। काठमाडौंँमा आन्दोलनकारी जेनजीको मृत्यु भएको खबर सुनेदेखि रोएरै दिन बिताएको थियो।’

गोपाल मिहेनती किसान र नर्सरी व्यवसायी थिए । उनले डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी राखेको थिए । खेतीपाती र पशुपालनमा उनको रुची थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उनी आफैँ गर्दथे। बारीमा सुपारी र मरिचको बगान लगाएका थिए । उनको निधनले गाउँ नै शोकमा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad