रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ।
उक्त शव रौटहटको माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेका थिए।
त्यतिबेलै स्थानीयले प्रहरीलाई खबर गरेका भए पनि प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेरेको हो।
‘रातभर हामीले घटनास्थल सुरक्षित राख्यौँ। आइतबार बिहान मेरै कमाण्डमा खटिएको प्रहरीले खोलेर हेर्दा त्यसभित्र शव रहेछ,’ डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘उनका माइती पक्षका मान्छेलाई हामीले जिल्ला प्रहरी कार्यालयमा बोलाएका छौँ। घटनाको थप अनुसन्धान हुँदैछ।’
घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ। ‘तर, हत्या कसले र किन गर्याे खुलिसकेको छैन,’ डीएसपी कार्कीले भने।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।
रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन्। उनी अहिले माइती घरमै बस्दै आएकी थिइन्। रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ। पतिसँगको उनको सम्बन्धको विषयमा हालसम्म केही खुलेको छैन।
स्कुल नजिकै शंकास्पद सुटकेस फेला परेको भनेर शनिबार राति नौ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
‘सुटकेसमा जे पनि (बिस्फोटक बस्तुसमेत) हुनसक्ने आशंकासहित हामीले राति घटनास्थल सुरक्षित राख्यौँ। त्यहाँ बत्तीको राम्रो व्यवस्था पनि थिएन,’ कार्कीले भने, ‘राति हामीले त्यसलाई चलाएनौँ। राति प्रहरीले त्यहाँ ड्युटी गर्याे। आइतबार बिहान सेनाको बम डिस्फोजल टोलीलाईसमेत साथमै लिएर हामी गएका थियौँ,’ डीएसपी कार्कीले भने।
Shares

प्रतिक्रिया