सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोर निवासी रामेश्वर महतो सदा झै पुस १९ गते (शनिबार) पनि बिहान पाँच बजे नै उठे।
परियोजनाको जंगल नकिजै छ उनको घर। परियोजनाको वन हेरालु चौकीदार (ज्यालादारी मजदुर) रहेका महतोले घरबाटै सुने जंगलमा बञ्चरो चलिरहेको आवाज।
विगत १५ वर्षदेखि वन हेरालु अस्थायी पदमा कार्यरत महतोको जिम्मेवारी हो, परियोजनाको वन पैदावारको चोरी निकासी हुन नदिनु, रखवारी गर्नु। उनको दैनिक ड्यूटी नै हो यो। त्यसबापत उनले दैनिक ६८० रुपैयाँ ज्याला पाउँछन्।
उनी तुरुन्तै साइकल लिएर बञ्चरोको आबाज (काठ काट्दा निस्कने आबाज) आइरहेको ठाउँतिर हुँइकिए। घरबाट झण्डै पाँचसय मिटर अगाडि पुगेपछि उनले सडक छेउमा साइकल अड्याए र जंगलमा बञ्चरो चलिरहेको ठाउँतिर लागे।
तर, त्यसपछि रामईश्वर घर फर्केनन्।
शनिबार बिहान बित्यो, दिउँसो भयो, साँझ पर्यो। तर वन पैदावारको सुरक्षाको लागि बिहान चिया पनि नखाइ जंगल गएका रामईश्वर घर फर्केनन्।
त्यसले परिवारका सदस्यका मनमा चिसो पस्यो। उनीहरूले घरमुली (रामईश्वर) बिहान जंगल गएदेखि साँझसम्म पनि घर नफर्किएको, खाना खान पनि नआएको जानकारी छिमेकीहरूलाई गराए। त्यसपछि परिवारका सदस्यसहित गाउँलेहरू रामईश्वरलाई खोज्न जंगलतिर लागे।
केही पर जंगलमा पुगेपछि रामईश्वरले चढ्ने गरेको साइकल सडक छेउमा भेटियो। तर, त्यहाँ वरपर कतै रामईश्वर देखिएनन्।
साइकल भेटिएकाले रामईश्वर पनि त्यतैकतै हुनसक्ने अनुमान गर्दै गाउँलेहरूले ठूलठूलो आवाजसहित उनलाई बोलाउन थाले। गाउँलेका आवाजे गंगल गुन्जियो, तर उनी बोलेनन्। उनको मोबाइल बिहानैदेखि अफ थियो।
त्यसपछि गाउँलेहरू साइकल भेटिएको ठाउँलाई केन्द्रीत गरेर त्यस वरपर जंगलको चारैतिर पसेर रामईश्वरलाई खोज्न थाले।
साँझ झमक्कै पर्न लागेको थियो। बनमारा घारीमा उनकै ज्वाइँ वीरबहादुर सिंहले सुरुमा एउटा शव देखे। आलो रगत लतपतिएको शव झ्यासझुसले सामान्य छोपिएको थियो। शव देख्ने बित्तिकै उनले चिनिहाले, त्यो आफ्नै ससुराबा रामईश्वरको शव थियो। उनले गाउँलेहरूलाई आफू भएको ठाउँमा बोलाए।
शव भेटिए पनि त्यसमा टाउको थिएन। पुसको चिसो भूइँमा टाउको बिनाको शव मात्रै लडिरहेको थियो।
त्यसपछि ‘परियोजनाका वन हेरालुको तस्करले हत्या गरेको’ खबर चारैतिर फैलियो। केही बेरमै स्थानीय युनिटसँगै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डीएसपी सरोज राईसहित ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुगे।
अब गाउँले र सुरक्षाकर्मी मिलेर रामेश्वरको शरीरबाट अलग भएको टाउको खोज्न थाले। यो क्रम राति नौ बजेसम्म चल्यो। तर, टाउको भेटिएन। शनिबार मध्यराति शव लिएर प्रहरी प्रादेशिक अस्पताल मलंगवातिर लाग्यो।
भोलिपल्ट पनि बिहानैबाट रामईश्वरको टाउकोको खोजी सुरु भयो। सयौँ गाउँले र सुरक्षाकर्मी त्यो काममा खटिए। आइतबार मध्य दिउँसो सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लटको वनमारा झाडीमा रामईश्वरको टाउको पनि भेटियो।
५२ वर्षको उमेरसम्म पनि कसैको केही नबिगारेका कर्तव्य परायण कामदार रामईश्वरको हत्याले यतिबेला सागरनाथ क्षेत्र शोकमा डुबेको छ।
रामईश्वरको हत्या गरेको आरोपमा प्रहरीले उनकै छिमेकी एक युवकलाई पक्राउ गरेर अनुसन्धान प्रक्रियाअघि बढाएको छ। तर, प्रहरीले अहिलेसम्म रामईश्वरको हत्या आरोपमा पक्राउ परेका ती युवकको विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।
‘हामीले रामईश्वरको हत्यामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले नेपालखबरसँग भने, ‘पक्राउ परेका ती युवक र घटनाको विस्तृत विवरण हामी पछि सार्वजनिक गर्नेछौँ।’
रामईश्वरको हत्यामा ती युवक मात्रै सहभागी छन् कि अरु पनि सहभागी छन् प्रहरी अनुसन्धानमै छ।
गाउँलेहरू भने प्रहरीले पक्राउ गरेका ती युवकले नै रामईश्वरको हत्या गरेकोमा विश्वस्त देखिएका छन्।
‘पक्राउ परेको युवक रामईश्वरको छिमेकी नै हो,’ एक स्थानीयले नेपालखबरसँग भने, ‘आफूले काठ काट्दै गरेको ठाउँमा आइपुगेका रामईश्वरसँग जम्का भेट हुँदा उसले बञ्चरो प्रहार गरेर रामईश्वरको हत्या गरेको घटनाबाट देखिन्छ।’
पक्राउ परेका युवक सनकी स्वभावको भएको छिमेकीहरू बताउँछन्।
उनले यसअघि पनि परियोजाको काठ काटेर चोरी गर्दै आएको रामईश्वरले देखे-भेटेका थिए। परियोजनामा पसेर जथाभावी काठ काटेको विषयमा रामईश्वरको ती युवकसँग यसअघि पनि विवाद हुँदै आएको गाउँलेहरू बताउँछन्।
‘त्यही रिसले हुनसक्छ काठ काटिरहेको ठाउँमा रामईश्वर पुग्नेबित्तिकै उसले बञ्चरो प्रहार गरेको अनुमान हामीले गरेका छौँ,’ रामईश्वरको हत्या घटनालाई नजिकबाट बुझ्दै आएका ईश्वरपुर- २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले नेपालखबरसँग भने, ‘उसले एकैपटक बञ्चरो प्रहार गर्दा रामईश्वर लडे होलान्। त्यसपछि उनले घाँटीमा प्रहार गरेर टाउको र शरीर अलग गरेको हुनसक्छ। विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्ला।’
सागरनाथ वन विकास परियोजनाका प्रमुख खेम विश्वकर्मा रामईश्वरलाई ‘संरक्षण सहिद’ घोषणाको लागि परियोजनाले पहल अघि बढाएको बताउँछन्।
‘परियोजना व्यवस्थापनको बैठकले वन तस्करको आक्रमणबाट सहादत हुनु भएका रामईश्वरको वीरताको उच्च सम्मान गर्दै उहाँलाई संरक्षण सहिद घोषणाको लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘उहाँलाई संरक्षण सहिद घोषणको लागि हामी संघीय सरकारमा पनि पहल अघि बढाउने छौँ।’
परियोजनाले मृतक महतोका परिवारलाई तत्कालै २५ हजार रुपैयाँ उपलब्ध गराएको छ।
त्यसैगरि वन पैदावार विकास समिति, सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षारोपण आयोजना झापामा कार्यरत कर्मचारीको कम्तीमा पनि एक दिन बराबरको तलब सहयोगस्वरुप पीडित परिवारलाई उपलब्ध गराउने र देशैभरिका वनकर्मीहरूबाट पीडित परिवारलाई राहतको लागि सहयोग संकलन गर्ने निर्णय पनि बैठकले गरेको विश्वकर्माले जानकारी दिए।
परियोजनाले मृतक महतोका आश्रित परिवारका एकजना सदस्यलाई उनी कार्यरत पदमै काम गर्नेगरि रोजगारी प्रदान गर्नेसहितका निर्णय पनि गरेको छ।
‘कुन विधि प्रक्रियाबाट पीडित परिवारलाई अधिकतम सहयोग दिलाउन सकिन्छ हामी त्यो खोजि गर्छौँ,’ विश्वकर्माले भने, ‘नेपाल सरकारले पनि उहाँलाई सहयोग दिन सक्छ। त्यसकाे पहल हामी गर्छाैँ।’
देशैभरिबाट वनकर्मीबाट पनि सहयोगको लागि आह्वान गरिएको उनले बताए।
रामईश्वरको आज साेमबार दिउँसो सागरनाथ-२ स्थित अम्बुवा खोलामा अन्तिम संस्कार गरिएको छ। रामईश्वरको अन्तिम संस्कारमा परियोजनाका ७५ जना कर्मचारीसहित तीनसय भन्दा धेरै गाउँले सहभागी भएका छन्।
मृतक रामईश्वरका पत्नी, दुई छोरा र दुई छोरी छन्। उनको हत्याको खबरपछि भारतमा रोजगारी गर्दै आएका उनका जेठा छोरा पनि घर फर्किएका छन्। उनका कान्छा छोरा भने नेपाली सेनामा कार्यरत रहेका वडाध्यक्ष कार्कीले जानकारी दिए।
Shares

प्रतिक्रिया