नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा समर्थकबीच झडप भएको छ। शनिबार दिउँसो खेल चलिरहँदा विराटनगर किङ्स र जनकपुर बोल्ट्सका समर्थकबीच झडप भएको हो।
झडपमा ७ जना घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले नेपालखबरलाई जानकारी दिए।
घाइते हुनेमा दुई जना प्रहरी नै छन्। समर्थकबीच झडप भएपछि छुट्याउन गएका प्रहरी घाइते भएका हुन्। घाइतेहरूको प्रहरीले उद्धार गरेको थियो।
यस्तै दुवैतर्फका ५ जना समर्थक पनि घाइते भएका छन्।
घाइते हुने प्रहरी प्रहरीमा जवान अजय तामाङ र दानबहादुर राउत रहेका छन्। यस्तै, गुल्मीका शिशिर गौतम, कपिलवस्तुका केशव आचार्य, रुपन्देहीका जयन श्रेष्ठ, बैतडीका केशव नेगी र रुकुमका प्रेम खड्गी रहेका छन्।
तीन जना उपचारपछि डिस्चार्ज भइसकेको र चार जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको एसएसपी घिमिरेले बताए।
उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर अनिल साहको कप्तानीमा रहेको जनकपुरसँग ८ विकेटले पराजित भएको छ।

Shares

प्रतिक्रिया