सुदूरपश्चिमका ५ स्थानमा हुने उपचुनावका लागि सुरक्षा व्यवस्था पूरा भएको प्रहरीले जनाएको छ। सुरक्षा योजना निर्माण गरेर सोहीअनुसार मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ गरिएका छन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, बझाङको सुर्मा गाउँपालिका–४, दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा उपचुनावअन्तर्गत आइतबार मतदान हुँदै छ।

उपचुनाव शान्ति रूपमा सम्पन्न गर्न सुरक्षाका लागि पहिलो घेरामा जनपद प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी खटिएका छन्।
सुरक्षाका दृष्टिकोणले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका संवेदशील मानिएको छ। विकट तथा विगतमा चुनावताका घटना भइरहने हुनाले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले सुरक्षा संवेदनशीलालाई मध्यनजर गरेर योजना बनाएर सुरक्षा व्यवस्था चुस्त पारिएको बताए।
‘उपचुनाव हुने ५ स्थानको अहिलेसम्म अवस्था सामान्य छ,’ उनले भने, ‘स्वामीकार्तिक सुरक्षा दृष्टिकोणले संवेदशील भएकाले हामीले त्यहाँ प्राथमिकता दिएर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका छौँ।’
उनका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको लागि हुने मतदानको सुरक्षालाई ध्यान दिएर कैलालीको धनगढीबाट एसपी सरोज पौडेलको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाजुराका डीएसपी दिलिपकुमार गिरी र सशस्त्रका एक डीएसपीको नेतृत्वको टोली पनि स्वामीकार्तिक खापर केन्द्रित छन्।
स्वामीकार्तिक खापर गाउँपालिकाको प्रत्येक मतदानस्थमा प्रहरी निरीक्षकको नेतृत्वको ५० जना भन्दा सुरक्षाकर्मी तैनाथ छन्। यस्तै, सशस्त्र प्रहरी पनि खटिएका छन्।
प्रदेश निर्वाचन कार्याललयका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा ५ स्थल तोकिएका छन् भने ९ मतदान केन्द्र छन्।
यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन्।
उपचुनाव हुने अन्य जिल्लाको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। आइतबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए।
उनका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र स्वयमसेवकसहित प्रत्येक मतदानस्थलमा ६/७ जना कर्मचारी परिचालन गरिएका छन्।
सुदूरपश्चिमका ५ स्थानमा हुने उपचुनावअन्तर्गत मतदानका लागि १० वटा मतदास्थल र २२ वटा मतदान केन्द्र राखिएका छन्।
बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको छान्न हुने उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएका छन्। यहाँ १ हजार ५ सय ५४ मतदाता छन्।
दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षको उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएको छ। यहाँ १ हजार २ सय ७२ मतदाता छन्।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ ममा २ मतदानस्थल, ३ केन्द्र र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन्। पूर्वीचौकी–६ मा १ हजार ५ सय ९३ र भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन्।
Shares

प्रतिक्रिया