अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुढानीलकण्ठ-६ गणेशचोकबाट शुक्रबार पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार ५४ वर्षीय शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरिएको हो।
शेर्पाले हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर लाभ लिएको आरोप छ।
विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान अगाडि बढाइएको एसएसपी जबराले बताए।
अनुसन्धानबाट शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको पत्ता लागेको सीआईबीले जनाएको छ।
विद्यालयका लागी सवारीसाधन खरिद गर्ने रकमबाट उनले आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारीसाधन खरिद गरेको अभियोग छ।
विद्यालयको रकम हिनामिना गरेको भनी सीआईबीमा उजुरी परेको थियो।

Shares

प्रतिक्रिया